१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘अस्पतालहरूले उपकरण हुँदाहुँदै खरिद गरेको पाइयो’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा प्रयोग नभएका र आवश्यकताभन्दा बढी भएका उपकरण तथा स्वास्थ्य सामग्री संकलन गर्ने र बिग्रिएका भए मर्मत गरी अन्य अस्पताल पठाउने तयारी भएको बताए। शुक्रबार पत्रकार सम्मेलन गरी उनले कार्यभार दुई साताको अवधिमा गरेका कामहरूबारे जानकारी दिँदै यस्तो बताएका हुन्।  

‘अस्पतालहरूले जथाभावी उपकरण खरिद गरेर थन्काएको पनि जानकारीमा आएको छ,’उनले भने, ‘हामी खोजी गरी स्वास्थ्य सेवा विभागमा पठाएर उपयोग गर्नेछौं, भएका उपकरण पनि नचलाई नयाँ उपकरण किनेको पनि पाइएको छ।’

सो क्रममा दुई वर्षसम्म प्रयोग नभएका र प्रयोग हुन नसकेका उपकरण स्वास्थ्य सेवा विभागमा फिर्ता लिई आवश्यकता अनुसार अरू अस्पतालमा पठाइने निर्णय भएको बताए। कतिपय अस्पतालमा आवश्यकताभन्दा बढी थन्केको देखिएकाले उचित व्यवस्थापन गर्ने र जथाभावी खरिद गर्ने चलनको अन्त्य गर्ने, जनशक्ति व्यवस्थापनमा ठोस कार्ययोजना बनाएर मात्र कर्मचारी राख्ने, सबै संघीय अस्पतालहरूको उपकरण जाँच गर्नेलगायत काम तत्कालै गर्ने बताए। यही क्रममा अबदेखि सबै संघीय अस्पतालहरूको उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभागले कार्ययोजना बताएर मात्र उपकरण र जनक्ति व्यवस्थापन गर्ने बताए।  

त्यसैगरी अस्पतालमा घन्टौं लाइनको झन्झटबाट मुक्ति दिलाउन अलनाइन टिकट बुकिङ र भौतिक दुवै रूपमा टिकट दिने व्यवस्थापन गर्ने, प्रादेशिक अस्पतालहरूमा पनि अनलाइन व्यवस्थामार्फत नै टिकट दिने व्यवस्था गर्ने बताए। संघीय अस्पतालहरूमा कार्यरत कर्मचारीहरूको १५ दिनभित्र अध्यावधि गर्ने गरी मन्त्रालयलाई निर्देशन दिइसकेको बस्नेतले बताए। ‘ संघीय अस्पतालहरूमा सिफारिसको भरमा आएर बढी संख्यामा काम गरिरहेको पाइएको छ, यो विकृति हुन नदिने गरी काम गर्दै छौं,’ उनले भने। मन्त्री बस्नेतले आइसियु, सिसियुमा बिरामीको सहज पहुँच नभएको र ठुलाबडाको भनसुनपछि मात्र भर्ना पाउने विकृति कायम रहेकाले यसको अन्त्यका लागि संयन्त्र तयार गर्ने बताए।  

सोही क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा देखिएको पदाधिकारी नियुक्तिको प्रक्रिया पनि अघि बढिसकेको उनले बताए। त्यसैगरी अस्पतालहरूमा असुन्तलित रूपमा रहेका करारका कर्मचारीबारे जानकारी दिई उचित हुने गरी व्यवस्थापन गर्ने काम अघि बढिसकेको जानकारी दिए।  

स्वास्थ्यमन्त्रीसहित ६ जनाको टोली जेनेभा जाँदै

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको ६ जनाको टोली विश्व स्वास्थ्य संगठनको ७६औं महासभामा भाग लिन जाँदै छन्। मन्त्री बस्नेत औपचारिक कार्यक्रममा दुई दिन सहभागी भई फर्किने र अन्य प्रतिनिधि केही दिन उतै रहने जनाएका छन्। शुक्रबार मन्त्रालयको आगामी कार्यबारे जानकारी दिँदै बस्नेतले बताएका हुन्। टोलीमा मन्त्रीका अतिरिक्त सचिव डा. विकास देवकोटा र अन्य कर्मचारी सहभागी हुनेछन्।  

यो सभामा नेपालको तर्फबाट डा. शम्भु आचार्यलाई सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय संगठन)को क्षेत्रीय निर्देशकको रूपमा उम्मेदवारी दिने भएका छन्। आचार्यको प्रतिद्वन्द्वीको रूपमा बंगलादेशकी महामहिम राष्ट्रपति सेख हसिनाकी छोरी शिख हसिना हुनेछिन्। सोही क्रममा मन्त्री बस्नेतले यसअघि विदेश भ्रमणको नाममा अनावश्यक रूपमा एउटै व्यक्ति दोहोरिएर जाने गरेकोमा अब आवश्यकता र प्राथमिकताको आधारमा उपत्यका बाहिरवाट समेत छनोट गरी पठाइने बताए। सोही क्रममा मन्त्रालयका कर्मचारीले विदेश भ्रमणको नाममा गैरसरकारी संस्था र मन्त्रालयको रकम दुरूपयोग गरेको आरोप लगाए।

प्रकाशित: ६ जेष्ठ २०८० ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App