१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

सुदूरकै स्वास्थ्यमा जीवन समर्पित

मान्छे जहाँ जन्म्यो हुर्क्यो, त्यो भन्दा सुगम ठाउँ खोज्दै हिँड्छ। तर, सुगममै जन्मेर पनि दुर्गम रोज्ने र दुर्गममै जीवन बिताउने बिरलै भेटिन्छन्। हो, त्यही बिरलै भेटिने मध्येका एक हुन्, डाक्टर सुभेषराज कायस्थ। 

चालीसको दशकताका सुदूरपश्चिमलाई राजधानी काठमाडौंले जोडेको थिएन। राजधानी काठमाडौं जान तथा आउनका लागि भारतीय मार्ग प्रयोग गर्नुपथ्र्यो। त्यही भएर पनि सुदूरपश्चिम दुर्गम थियो। हो, त्यही दुर्गममै यहाँका नागरिकको स्वास्थ्य चेकजाँच गर्दैमा तीन दशक बढी समय बिताएका छन्, डा. कायस्थले।

काभ्रेपलान्चोकको बनेपामा २०१३ सालमा जन्मिएका कायस्थको बाल्यकाल त्यहीं बित्यो। बुबा चन्द्रराज कायस्थ र आमा हरिदेवी कायस्थका पाँच छोरामा उनी माहिला हुन्। उनका बुबा त्यतिबेला नाम चलेका वकिल थिए। त्यो सुख र सयलमा हुर्केका सुभेषराजको सानैदेखिको एउटै सोच थियो, गरिब तथा दीनदुःखीको सेवा गर्ने। अन्ततः उनको त्यही सोच पूरा भइदियो। बनेपास्थित आजाद हाई स्कुलबाट एसएलसी पास गरेपछि उनले महाराजगन्जस्थित चिकित्सा अध्ययन संस्थान (आइओएम) मा हेल्थ असिसटेन्ट अध्ययन थाले। हेल्थ असिसटेन्ट पास भएपछि बंगलादेशको राजशाही मेडिकल कलेजमा छात्रवृत्ति पाएर पढे। एक वर्ष मेडिकल विभागमा प्रोफेसरको मातहतमा क्लिनिकल असिसटेन्ट भएर इन्टर्नसिपमा काम गरेका उनले पढाइ सकेपछि नेपाल फर्के।

नेपाल फर्केलगत्तै उनले मेडिकल अफिसरमा नाम निकाले। नाम निस्केपछि उनले दुर्गममा गई सेवा गर्ने सोचअनुसार सुदूरपश्चिमको महाकाली अञ्चल अस्पतालका लागि पत्र लिए र हिँड्ने निधो गरे। 

उनी काठमाडौंबाट महेन्द्रनगरका लागि बस टिकट लिन जाँदाको स्मरण सुनाउँदै उनले भने, ‘महेन्द्रनगर जानका लागि गाडीको टिकट काट्न खोज्दा टिकट काउन्टरमै महेन्द्रनगर कता पर्छ भन्नेसम्म थाहा नभएको बताए। साँच्चै कस्तो ठाउँ होला, जहाँ गाडीसमेत जाँदैन भन्ने लाग्यो  एक मनले निकै दुर्गममा जाँदै छु कि जस्तो लाग्यो। त्यो समयमा महेन्द्रनगर दुर्गमै थियो।’ काठमाडौंबाट महेन्द्रनगरका लागि हवाई यातायात भने चल्थ्यो। अन्ततः हवाईमार्गबाटै पहिलोपटक महेन्द्रनगर पुगेको उनले बताए। आफूसँगै पत्नी डा. गौहरि सुलोचना कायस्थ पनि महेन्द्रनगर आएको बताउँदै उनले भने, ‘हामी दुवै पति–पत्नीले महाकाली अञ्चल अस्पतालमा काम गर्‍यौं।’

महाकाली अञ्चल अस्पतालमा करिब २१ वर्ष बिताएका उनले त्यसपछि भने सेती अञ्चल अस्पतालमा काम गरे । जीवनको पूरै समय आफूले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमै खर्चेको बताउँदै उनले भने, ‘मलाई यहाँका आम नागरिकको माया ममताले यो ठाउँ छाडेर जानै दिएन।’ डा. कायस्थले एमडी गरेपछि एक वर्ष वीर अस्पतालमा छाती रोग तथा मेडिसिन विभागको प्राध्यापकका रूपमा काम गरे। एमडी गर्न काठमाडौं जानुअघिसम्म उनले झन्डै २१ वर्ष महाकाली अञ्चल अस्पतालमा बिरामीको सेवा गरेर बिताए। एमडी गरेपछि उनी सेती अञ्चल अस्पताल आए । उनी त्यो बेला  काठमाडौंमै बस्न सक्थे। तर, सुदूरपश्चिमको मायाले उनलाई यहीं डोर्‍यायो । ३० वर्षे सरकारी जागिरपछि उनी काठमाडौं फर्किन सक्थे। तर, उनले काठमाडौं रोजेनन्, रोजे त केवल सुदूरपश्चिममै बिरामीको सेवा रोजे।

अवकाशपछि पनि उनी धनगढीमै छन्। यहीं बिरामीको सेवामा समर्पित छन्। सुदूरपश्चिममै उमेर बिताएका उनले अन्ततः धनगढीमै घर किनेका छन्। उनले भने, ‘म त अब यहीं धनगढीमै बस्ने भनेरै घर किनें। अहिले आफ्नै घरमा बसिरहेको छु।’

सुदूरपश्चिममा बिरामीको सेवा गर्दाका कयौं अनुभवहरू छन् उनीसँग। उपचार गराउनका लागि कोही चामल बेचेर आउँथे भने कोही पैसा नभएरै रोग पालेर बस्थे। तिनै गरिब दुःखी बिरामीको उपचारमा समय गएको पत्तै पाएनन् डा. कायस्थले।

दुर्गममा काम गरेबापत तत्कालीन राजा वीरेन्द्र शाहबाट गोरखा दक्षिण बाहु सम्मान पाएका डा. कायस्थलाई बिरामीको उपचार गरेपछि सन्चो भएकाहरूले पैसाकै माला हालेर सम्मान गरेका प्रशस्त उदाहरण छन्। 

सम्मान र पुरस्कारभन्दा पनि सन्तुष्टि र खुसी भने बिरामीको उपचारबाट प्राप्त हुने गरेको उनी बताउँछन्। ‘मलाई भित्तामा झुन्ड्याइने सम्मान पत्रभन्दा बिरामीको उपचार गर्दाको आनन्द सयौं गुणा बढी हुन्छ,’ उनले भने।

उनले उपचार सँगसँगै अनुसन्धान पनि गरे। कैलाली र कञ्चनपुरमा थारु जातिमा देखापरेको सिकलसेल एनिमियाको अनुसन्धानमा खटिनेमध्येका उनी पनि एक हुन्। जसले पहिलोपटक अनुसन्धान गरेर रोग पत्ता लगाएका थिए। उनले सेती अञ्चल अस्पतालमा सम्भव नहुने उपचारलाई यहीं सम्भव गराए। उनकै अगुवाइमा  सेती अञ्चल अस्पतालमा प्रयोगशालाको व्यवस्था भयो। बिरामीले निःशुल्क उपचार पाउन थाले। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्ने बिरामीको सजिलोका लागि सरकारले एक लाख रुपैयाँ दिने घोषणा गर्‍यो। नेपाल सरकारको निर्देशिका ‘नेसनल गाइडलाइन अफ म्यानेजमेन्ट अफ सिकलसेल डिजिज’ लेखे।

सुदूरपश्चिममा सबैभन्दा बढी देखिएको टिबीका बिरामीको उपचारका लागि धनगढीमा उपचार केन्द्र स्थापना गरे। उनले सुदूरपश्चिमका जिल्लाहरूमा लाग्ने ट्रपिकल रोगबारे पनि अनुसन्धान गरे। शाकाहारी मानिसमा हुने भिटामिन बी १२ को कमीबारे उनले गरेको अनुसन्धानलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुमोदन गरेको छ।

प्रकाशित: ११ वैशाख २०८० १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App