२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा कोरोना जोखिम बढ्दै

फाइल तस्वीर

भारतको उत्तरी क्षेत्रमा कोभिड– १९ (कोरोना भाइरस) संक्रमण दर बढ्दै गएको छ। त्यसको प्रभाव सोझै नेपालसम्म पुग्छ, तर भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको नेपालगन्जस्थित जमुनाह नाकामा प्रभावकारी ढंगले सतर्कता अपनाइएको छैन। जसले गर्दा बाँकेमा कोरोना भाइरसको जोखिम बढेको छ।

दैनिक जमुनाह नाकाबाट मात्रै ठूलो संख्यामा मान्छे आवतजावत गर्छन्। नेपालगन्जबाट नजिकैको भारतीय बजार रूपैडियाबाट किनमेलका लागि आवतजावत गर्नेको संख्या त झन् यकिन छैन। रोजगारका लागि भारत गएका मात्रै दैनिक करिब चार सयभन्दा बढी नेपाली जमुनाह नाका हुँदै नेपाल भित्रिन्छन्। सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा व्यवस्थापन प्रभावकारी नहुँदा बाँकेसँगै पश्चिम नेपालमा कोरोना भाइरसको जोखिम बढेको हो। सीमा क्षेत्रसँगै बाँकेमा कोरोना भाइरसबारे सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद शर्माले बताए।

तर सीमा क्षेत्रमा अपनाइएको सतर्कता प्रभावकारी भने हुन नसकेको स्थानीयको भनाइ छ। पछिल्लो समयमा सीमा चार सय ७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ। सीमामा निर्माण गरिएको हेल्थ डेस्कका अहेब हेमन्त रानाका अनुसार बिहीबार एक सय ५६, बुधबार एक सय १८, मंगलबार एक सय १८, सोमबार एक सय ३१ र आइतबार एक सय ९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ, जसमध्ये २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ। तीमध्ये तीनजना नेपालगन्जका भएको अहेब रानाले जनाए।

‘भारतबाट आउने जतिलाई परीक्षण गर्छाै’,उनले भने, ‘दैनिक जति सकिन्छ त्यतिको परीक्षण गर्छाै।’कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि प्रयास थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपाल–भारत सीमा खुला हुँदा पनि बाँकेमा कोरोना भाइरसको जोखिम बढेको हो। यसभन्दा पहिला बाँके कोरोना भाइरसको उच्च जोखिम क्षेत्रमा परेको थियो। अहिले सीमा क्षेत्रमा मात्र देखिएको र जिल्लाभित्रै कोरोना भाइरस संक्रमण नदेखिएको कोभिड– १९ व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले जनाए। उनका अनुसार भेरी अस्पतालमा दैनिक कोरोना भाइरस परीक्षण हुने गरेको उनी बताउँछन्। ‘बाँकेमा चारजना सक्रिय संक्रमित हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूलाई होम आइसोलेसनमा राखेर उपचार गरिएको छ।’ सीमा क्षेत्रमा करिब ४०÷५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए। ‘महामारीदेखि नै हामीले जोखिम न्यूनीकरणका लागि प्रयास गरेका हौंं’, उनी भन्छन्, ‘उक्त प्रयास रोकिएको छैन। जारी नै छ।’

प्रकाशित: ९ वैशाख २०८० ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App