४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बागलुङको निसीखोलामा बिरामी जाँच्दै डा. केसी

फाइल तस्वीर

डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटेका छन् । मङ्गलवार निसीखोला आएका उनले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्य चौकीमा पुगेर बिरामीको उपचारमा गरिरहेका छन्। डा केसीले स्वास्थ्य चौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्य चौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। 

केसी कुनै खबरबिना नै स्वास्थ्य चौकी पुगेका हुन। शाही भन्छन्, ‘उनी आउने कुनै जानकारी थिएन, स्वास्थ्य चौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्‍यौँ।’ 

डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए। ‘सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने। डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए। आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए। 

डा केसी भन्छन्, ‘पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्‍यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ।’ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए। 

‘उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्य चौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले एक लाख रुपैयाँ बराबरको औषधि व्यवस्थापन गरेका छौँ।’ 

डा. केसी स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा हुनुपर्ने, चिकित्सा अध्ययनको स्तरीय हुनुपर्ने र अध्ययन शुल्क पहुँच योग्य हुनुपर्ने, जथाभाबी मेडिकल कलेज खोल्न नहुने जस्ता धेरै माग राखेर विगतमा पटक पटक अनसन बसिसकेका छन्। मेडिकल शिक्षाको स्तर र व्यवस्थापनका मुद्दामा केन्द्रीत डा. केसी फुर्सदका समयमा यसैगरी दुर्गममा पुगेर बिरामीको उपचार गर्दै आएका छन्। 

प्रकाशित: ८ वैशाख २०८० ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App