coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर नपामा एक सय सत्ताईस क्षयरोगी

भक्तपुर जिल्लाका चारवटा नगरपालिकामध्ये सबैभन्दा बढी क्षयरोगी भक्तपुर नगरपालिकामा रहेको पाइएको छ। स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनयता भक्तपुरभरि तीन सय ४७ जना क्षयरोगी पहिचान भएकोमा भक्तपुर नगरपालिकामा सबैभन्दा बढी एक सय २७ जना क्षयरोगी पहिचान भएका हुन्। दोस्रोमा मध्यपुर ठिमी नगरपालिकामा एक सय ६ जना क्षयरोगी पहिचान भएका छन्। साथै सूर्यविनायक नगरपालिकामा ८५ जना र चाँगुनारायण नगरपालिकामा २९ जना क्षयरोगी पहिचान भएका छन्।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले चालु आर्थिक वर्षभित्र ६ सयभन्दा बढी क्षयरोगीको पहिचान गर्ने लक्ष्य रहेको सुनाए। ‘चाँगुनारायण नगरपालिकालाई सन् २०२५ सम्ममा क्षयरोगमुक्त जिल्लाको पहिलो नगरपालिका घोषणा गर्ने योजना छ’, कार्यालय प्रमुख मिजारले भने, ‘त्यहीकारण त्यहाँ कम मात्रै क्षयरोगी छन् र जिल्लाका चारमध्ये यो नगरपालिकामा कम मात्रै क्षयरोगीको पहिचान भएका हुन्।’

विश्व क्षयरोग दिवस २०७९ का अवसरमा बुधबार कार्यालयले पत्रकारसँग गरेको अन्तरक्रियामा कार्यालय प्रमुख मिजारले पूर्णरूपमा क्षयरोगको लक्षण देखिएपछि मात्रै उपचारका लागि आउने भएकाले क्षयरोगी सबै क्षयरोगीको पहिचान नहुने गरेको बताए। भक्तपुर र मध्यपुर ठिमीमा जनसंख्या र जनघनत्व दुवै बढी भएकाले जिल्लाका चारमध्ये यी दुई नगरपालिकामा बढी क्षयरोगी पहिचान हुन गएको उनले सुनाए।

धूमपान र लागुपदार्थ सेवन, श्वासप्रश्वास, कुपोषण भएका बालबालिका, गरिब (अति विपन्न परिवार), अंग प्रत्यारोपण गरेका, शरीरको प्रतिरक्षा शक्ति कम भएका (एचआईभी संक्रमित, मधुमेह, क्यान्सर आदि) र उमेर ढल्केका, सिमेन्ट, गलैंचा कम्पनी तथा ढुंगा, गिटी कुट्ने मजदुरहरू क्षयरोगको जोखिममा रहेको नेपालको तथ्यांक छ।

क्षयरोग रोकथामका लागि प्रारम्भिक चरणमै रोगको पहिचान गरी उपचार गर्नुपर्छ। साथै नियमित र पूर्ण अवधिको उपचार गरेमा क्षयरोग निको हुन्छ र अरूलाई सर्दैन। साथसाथै खोक्दा र हाच्छ्युँ गर्दा मुख छोप्ने तथा मास्कको उचित प्रयोग गर्नुपर्छ। जथाभावी नथुक्ने तथा खकारको उचित व्यवस्थापन गर्नुपर्छ। र बालबालिका जन्मनेबित्तिकै जति सक्दो छिटो बिसिजी खोप लगाउनुपर्छ।

लागिहालेमा क्षयरोगको उपचार प्रत्यक्ष निगरानीमा गरिन्छ; जुन विधिलाई डट्स भनिन्छ। क्षयरोगको औषधी हरेक स्वास्थ्य संस्थामा निःशुल्क रूपमा पाइन्छ। यो औषधी ६ महिनासम्म नियमित रूपमा खानुपर्दछ। भक्तपुर जिल्लामा सरकारी गैरसरकारी तथा प्राइभेट गरी ४५ वटा क्षयरोग उपचार केन्द्र रहेका छन्।

प्रकाशित: ९ चैत्र २०७९ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App