१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमा पहुँच नभएका स्थानीयहरूलाई घरमै स्वास्थ्य सेवा

सिन्धुलीको कमलामाई नगरपालिकाले स्वास्थ्यको पहुँच नभएको स्थानीयका लागि गाउँघरमै पुगेर स्वास्थ्य जाँच गर्न थालेको छ।

कमलामाई नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका स्थानीयलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले गाउँघरमै पुगेर स्वास्थ्य शिविर राख्न थालेको हो।

नगरपालिकाले स्वास्थ्य सेवाबाट ओझेलमा रहेको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ को मडाहामा पुगेर निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ।

कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सिन्धुली अस्पतालको प्राविधिक सहयोगमा स्थानीय नागरिकलाई घरघरमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापाले जानकारी दिए।

जिल्ला अस्पताल पुग्न नसकेका तथा आर्थिक अवस्था कमजोर भएका जनतालाई गाउँघरमै पुगेर स्वास्थ्य जाँच गरी आवश्यक औषधि उपचार गर्ने नगरपालिकाको नीति कार्यक्रम अनुसार गाउँघरमै पुगेर स्वास्थ्य जाँच गर्न थालिएको उनको भनाई छ।

नागरिकलाई स्वस्थ राख्ने अभियान अन्तर्गत अस्पतालको पहुँचमा पुग्न नसकेका विपन्न नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालका विशेषज्ञ चिकित्सक सहित गाउँघरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको कमलामाई नगरपालिका प्रमुख मेयर उपेन्द्र कुमार पोखरेलले जानकारी दिए।

सबैभन्दा प्रमुख भनेको जनताको स्वास्थ्य भएकाले स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनको लागि विशेषज्ञ टोली सहितको शिविरको आयोजना गरिएको उनको भनाई थियो।

नगरपालिकाको विकट क्षेत्रमा स्वास्थ्य शिविर राखेर स्वास्थ्य सेवा दिएको नगर प्रमुख पोखरेलको भनाई छ। स्वास्थ्य सेवा लिनका लागि हजारौँ रुपैयाँ तिरेर जिल्ला अस्पताल जानुपर्ने बाध्यतालाई सहजता दिनका लागि गाउँघरमै स्वास्थ्य शिविर गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए।

गाउँमै निःशुल्क स्वास्थ्य जाँच गर्न पाएपछि समयसँगै पैसाको पनि बचत स्वास्थ्य शिविरमा सेवा लिएका सेवाग्राहीको भनाई छ।

कमलामाई नगरपालिका १३ मा गरिएको स्वास्थ्य शिविरमा आयुर्वेदिक सेवा सहित, स्त्री तथा प्रसूति, जनरल स्वास्थ्य परीक्षण, सुगर प्रेसर सम्बन्धी जाँच तथा परामर्शका साथै निःशुल्क औषधी समेत वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरकै पिछडिएको दलित तथा माझी बस्तीमा चेतनाको कमी भएको ठाउँमा स्वास्थ्य सम्बन्धी चेतना सहित स्वास्थ्य सेवा दिने उद्देश्यले वडा नंं. १३ को मडाहामै शिविरको आयोजना गरिएको वडा नंं १३ का वडा अध्यक्ष केशर बहादुर कार्कीले जनाए। नगरपालिकाले गाउँघरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यलाई थप विस्तार गर्ने जनाएको छ।

प्रकाशित: ५ चैत्र २०७९ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App