७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्थानीयका रोजाइमा आयुर्वेदिक उपचार

आयुर्वेदिक उपचार पद्धति यहाँका स्थानीयको रोजाइमा पर्न थालेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन्। आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ।

दैनिक रूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ। आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ बिरामीले सेवा लिएका छन्। उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी रहेका जनाइएको छ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ। तर, दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ। उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप गर्दै रोग अनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ।

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सक अभावमा सेवाप्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ। मानिसहरू खास गरेर एन्टिबायोटिक औषधि खाएर रोगलाई चाँडो निको बनाउन चाहने भए पनि भोजपुरमा भने आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन्। विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ।

लामो समयसम्म ठूल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन्।

स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको अनुभव सुनाए। उनले भने,‘ खासमा हामीले यो उपचार पद्धतिबारे जानकारी नपाउँदा समस्यामा परेका रहेछौं। मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो। उपचार गराउन विभिन्न शहरका ठूला अस्पतालमा गएँ तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ।’

केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा छ। बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्स लगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन्। आयुर्वेदिक औषधिको महत्वबारे जानकारी हुन थालेपछि आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन्। आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताइन्।

‘मेरो ग्याष्ट्रिकको समस्या छ। विभिन्न अस्पतालमा उपचार गराउन गएँ’, उनले भनिन्, ‘त्यति गर्दा पनि निको नभएपछि अहिले करिब एक महिनाबाट नियमित रूपमा यहाँ आएर उपचार गराउँदै छु। अहिले सुधार भइरहेको छ। यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ।’

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताए। बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ।

२०५८ सालदेखि जिल्लामा आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो। भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय, दिङ्ला औषधालय र ओख्रे औषधालय शाखा रहेका छन्।

त्यस्तै अरुण गाउँपालिकाको चम्पे, हतुवागढी घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ५ चैत्र २०७९ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App