१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ। निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिर सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्री सहित विभागीय मन्त्रीको ध्यानाकर्षण, ठेकेदारलाई पटकपटक लिखित ताकेतालाई समेत नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवं ठेकेदार रविसिंहल श्रेष्ठले लत्याइदिएपछि भवनले गति लिन पाएको छैन।

निर्माणाधीन भवनभित्र झार पलाएको छ, निर्माण सामग्री यत्रतत्र छरिएको छ। तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती र गल्वा रफिना जेबीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेका थिए। २० मंसिर २०७६ भित्र भवन निर्माण गरिसक्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि यतिबेला चौतर्फी आलोचना र गुनासो बढेको छ। निर्माण सक्नुपर्ने म्याद गुजारेको तीन वर्ष बितिसक्दासमेत अस्पताल भवन निर्माण योजनाका काम करिब-करिब ६५ देखि ७० प्रतिशत मात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

‘ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेका छन्। विभागीय निर्देशनलाई समेत अटेर गरेको देखिन्छ,’ अध्यक्ष सुवेदीले भने। उनले निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण अस्पतालले धेरै अवसर गुमाउनुपरेको बताए।

बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारीसहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई चालु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ।

केही दिनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर अलपत्र भवनका बारेमा जानकारीसमेत गराइएको प्रदेश सांसद हरि भण्डारीले बताए। ‘प्रधानमन्त्रीको सचिवालयबाटै दबाब दिइरहेका छौं। अब काममा फर्कने संकेत देखिएको छ,’ सांसद भण्डारीले भने। भवन समयमै नबन्दा अस्थायी संरचनामै रहेर स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ।

अस्पतालको निर्माणाधीन भवन भूत बंगलाजस्तै देखिन्छ। बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरेभन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९औं प्रतिवेदनमा उल्लेख छ।

केही वर्षअगाडि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिस गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र शिशुको ज्यान जोगाएको बेनी अस्पताल जनशक्ति र भौतिक संरचना अभाव हुँदा सेवाग्राहीको गुनासो गर्ने थलो बनेको छ।

प्रकाशित: ३ चैत्र २०७९ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App