coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

इलाममा कोरोनाविरुद्ध पहिलो र दोस्रो बुस्टर खोप लगाइँदै

इलाममा कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो बुस्टर खोप बिहीबारदेखि सञ्चालन गरिने भएको छ। जिल्लाका २ सय २५ खोपकेन्द्रमा आउँदो ७ गतेसम्म फाइजर वाइभ्यालेन्ट खोप सञ्चालन गरिने भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका १२ वर्षभन्दा माथिका सबैलाई पहिलो बुस्टर लगाइनेछ। जोन्सोनको एकमात्रा र अरू खोपको २ मात्रा पूरा गरेको ३ महिना बितिसकेपछि बुस्टर डोज लगायन मिल्ने कार्यालयले जनाएको छ। ‘जोन्सनको १ मात्रा र अरू खोपको हकमा २ मात्रा लगाएको छ भने पहिलो बुस्टर लगाइने छ,’ कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले भने।

उनका अनुसार यो अभियानमा दोस्रो बुस्टर खोप पनि लगाइँदैछ । पहिलो बुस्टर लगाएकाहरूलाई मात्र दोस्रो बुस्टर लगाइने छ। र, पहिलो बुस्टर लगाएको ६ महिनापछिमात्रै दोस्रो बुुस्टर लगाउन मिल्ने उनको भनाइ छ। दोस्रो बुस्टर चाहिँ १२ वर्षभन्दा माथिका निश्चित क्षेत्रका व्यक्तिलाई मात्र लगाइने छ। ‘५५ वर्षभन्दा माथिका सबै नागरिक, गर्भवती, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, दीर्घरोगी, रोगप्रतिरोधी क्षमता कम भएका व्यक्ति, सञ्चारकर्मी र जनप्रतिनिधिलाई दोस्रो बुस्टर लगाइने छ,’ उनले भने, ‘यी दुवै खोप कोभिड संक्रमण भएको छ भने चाहिँ निको भएको १ महिनापछिमात्रै लगाउन मिल्छ।’

जिल्लाका १० वटै स्थानीय तहका खोपकेन्द्रमा एकैपटक यो अभियान सञ्चालन गरिँदैछ। कार्यालयका अनुसार अबको अभियानमा १२ वर्षभन्दा माथिका पहिलो बुस्टर डोज लगाउन बाँकी जनसंख्या ६३ हजार ४ सय ९३ छ। ५५ वर्षभन्दा माथिका ११ हजार हजार ४ सय ९२ जनाले पहिलो बुस्टर डोज लगाइसकेका छन्। १ भाइलमा ६ डोज रहेको बुस्टर खोप ७४ हजार ९ सय ८५ डोज आवश्यक रहेकामा ४२ हजार ७ सय डोजमात्र आएको छ।

यसअघि इलाममा विभिन्न चरणमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। इलाममा पहिलो खोप लगाउनेको संख्या ९२ प्रतिशत रहेकामा दोस्रो खोप लगाउनेको संख्या ८५ प्रतिशत छ। खोपको मात्रा पूरा गर्नेमध्ये पनि ५६ प्रतिशतले मात्रै पहिलो बुस्टर लगाएका छन्। कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल/साइनोफाम, जोन्सन, मोडर्ना र फाइजर बायोएन्टेक खोप यसअघि प्रयोग गरिएका थिए।

स्वास्थ्य प्रमुख आदित्य शाक्यले अहिले कोभिडलाई सर्वसाधारणले सामान्य रूपमा लिन थालेकाले यसविरुद्धको खोप लगाउनेको संख्या नै घटेको बताए। ‘अझ बुस्टर मात्रा लगाउन सर्वसाधारणको चासो निकै कम देखिएको छ,’ उनले भने, ‘सरोकारवालाको सहभागिता र परिचालन पनि कम देखिन्छ।’

उनले खोप स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी हो भन्नेजस्तो धारणासमेत कतिपयमा पाइएको जनाए। ‘खोप लगाउनुपर्ने व्यक्तिहरूले नै खोपको महत्व विचार नगरिँदा प्रयोग नभइ खोप खेर जाने जोखिमसमेत बढ्दो छ,’ उनले भने, ‘बुस्टर डोज कोभिडको नयाँ प्रजातिविरुद्धसमेत प्रभावकारी छ भन्ने सबैले बुझ्न जरुरी छ।’

प्रकाशित: २ चैत्र २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App