१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

समयमै उपचार नगर्दा पाठेघरमा समस्या

पाठेघरमा समस्या देखिएपछि उपचारका लागि छोरीसँगै आएकी दुर्गी विक। तस्बिरः हरिकृष्ण-नागरिक

म्याग्दीको ग्रामीण क्षेत्रमा अशिक्षा र जनचेतना अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ। महिलाको संवेदनशील अंगमध्ये स्तन र पाठेघर समस्या समयमै पहिचान गरी उपचारमा ध्यान नदिँदा पाठेघरमा समस्या देखिएको हो।

प्रबासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिको आयोजना; तृप्ति फाउन्डेसन अस्ट्रेलियाको आर्थिक तथा काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पहिलो चरणमा आयोजना गरिएको शिविरमा ७७ जना महिलामा पाठेघर समस्या पहिचान भएको मोना आइइसीका सचिव सुबोध बरुवालले बताए। रघुगंगा गाउँपालिकामा ३६२ महिलाले सेवा लिएकोमा ४२ जना र अन्नपूर्ण गाउँपालिकामा २६७ जनाले सेवा लिएकोमा ३५ जनामा समस्या देखिएको उनले बताए। त्यसैगरी रघुगंगामा ३ र अन्नपूर्णमा ४ गरी ७ जनामा स्तनमा गाँठागुठी भेटिएको थियो।

पाठेघर र स्तन क्यान्सर महिलामा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने काठमाडौं क्यान्सर सेन्टर भक्तपुरका डा. किशोर प्रधानले बताए। ‘महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तनको सुरक्षामा हेल्चेक्य्राइँ गरिन्छ। समयमै चेकजाँच गरे उपचार सम्भव छ’,डा. प्रधानले भने। उनले महिलामा हुने सबै क्यान्सरमध्ये एकतिहाइ स्तन क्यान्सर हुने भएकाले समयमै उपचार आवश्यक रहेको बताए। महिलामा हुने स्तन क्यान्सरको प्रमुख लक्षण भनेको स्तनमा गाँठागुठी हुनु रहेको डा. प्रधानको भनाइ छ।

मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले जिल्लाका सबै स्थानीय तहमा शिविर सञ्चालन गरिने बताए। आर्थिक अभावका कारण तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिए पनि उपचारका लागि लामो समयदेखि घरमै बस्न बाध्य भएको अन्नपूर्ण गाउँपालिका–१, दोबाकी ८६ वर्षीया दुर्गी विकले बताइन्। उनले आफ्नी अपांग छोरीको सेतो पानी बग्नेलगायतका समस्या लामो समयदेखि घरमै लुकाउन बाध्य भएको बताइन्।

शिविरमा उपचारका लागि आउने महिलामा पाठेघर खस्ने र स्तन सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो। कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतना कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुन्छ।  

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिला खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने भएकाले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर उपचार गरिएको मोना आइइसीका अध्यक्ष अमर छन्त्यालले बताए। उनले मोना अन्तर्राष्ट्रियले बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा समेत शिविर सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App