खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालित स्वास्थ्य शिविरमा झण्डै १२ सयले मिर्गौला परीक्षण गराएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘निःशुल्क मिर्गौला स्वास्थ्य परीक्षण शिविर’मा सो संख्यामा नगरवासीले मिर्गौला परीक्षण गराएका हुन्।
दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार र बिहीबार २ दिन सञ्चालित शिविरमा १ हजार १ सय ८० नगरवासीको मिर्गौला परीक्षण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले बताए। उनका अनुसार पहिलो दिन ५ सय ४४ र दोस्रो दिन बाँकी ५ सय ३६ जनाले परीक्षण गराएका थिए। नगरवासीको स्वास्थ्य सुरक्षाप्रति सचेतना जगाउँदै स्वास्थ्य नगर बनाउने उद्देश्यले निःशुल्क शिविर आयोजना गरिएको पौडेलले बताए।
परीक्षणको क्रममा झण्डै १ सय हाराहारीलाई थप परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। शिविरमा पिसाब मात्र जाँचेर मिर्गौलाको प्रारम्भिक परीक्षण गर्दा केही जटिलता देखा परेकाहरूलाई विस्तृत रूपमा जँचाउन अस्पताल पठाइएको हो। अस्पतालको जाँचमा जटिल समस्या पत्ता लागे अप्रेसनलगायत थप उपचार गर्न काठमाडौँ या अन्य सुविधा सम्पन्न अस्पताल पठाउने योजना नगरपालिकाले बनाएको पनि पौडेलले बताए।
नगरपालिकाका स्वास्थ्यकर्मी मोहन राउतले शिविरमा मिर्गौलासँगै मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), दम र मुटु रोगको पनि प्रारम्भिक चेकजाँच गराइएको थियो। शिविरमा जँचाउन आउने नगरवासीमा बालबालिकादेखि युवायुवती हुँदै ९० वर्षसम्मका सेवाग्राही रहेका थिए। निःशुल्क परीक्षणको व्यवस्था भएकाले १५ वटै वडाबाट स्थानीयहरू स्वास्थ्य जाँचका लागि शिविर आएका थिए।
शिविरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। नगरवासीलाई मिर्गौला रोगमुक्त राख्ने उद्देश्यले विशेषज्ञ डा. खनालसहित स्वास्थ्यकर्मी टोली नगरपालिका झिकाएर निःशुल्क शिविर सञ्चालन गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। अन्य रोगसम्बन्धी उपचारका लागि पनि नगरपालिकाले यस्ता निःशुल्क शिविरहरू सञ्चालन गर्ने योजना रहेको मेयर भट्टराईले बताए।
प्रकाशित: २७ फाल्गुन २०७९ १३:१२ शनिबार