८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरूलाई सेनाको स्वास्थ्य परीक्षण

तस्बिर: अनिल भण्डारी/नागरिक

श्रवण शक्ति कमजोर भएका विद्यार्थीलाई नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरेको छ।

सिन्धुलीमा रहेको नेपाली सेनाको बर्दबहादुर गणले एक दिने स्वास्थ्य शिविरको आयोजना गरी सिन्धुलीको कमलामाई नरपालिका ६ जसेदमारमा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो।

श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरूको आँखा कान घाटीको परीक्षण गरी आवश्यक उपचारको व्यवस्था नेपाली सेनाले मिलाएको हो। मुलुकका ३२ जिल्लाका १ सय ९४ जना बहिरा विद्यार्थी अध्ययनरत नवज्योति बहिरा विद्यालयमा नेपाली सेनाले विगतमा समेत सहयोग पु¥याउदै आएको र यस वर्ष स्वास्थ्य शिविर आयोजना गरिएको बर्दबहादुर गणका गणपति रमेश थापाले जनाए।

प्रधानसेनापतिको मार्ग निर्देशन र ९ नम्बर बाहिनीका बाहिनीपतिको निर्देशनमा जिम्मेवारीको क्षेत्रमा सैनिक नागरिक सम्बन्ध प्रगाढ बनाउन सामाजिक काममा नेपाली सेना सक्रिय भएको गणपति थापाले बताए।

सिन्धुलीमा बर्दबहादुर गण तैनाथ भएपश्चात् सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा सिन्धुलीगढी र हरिहरपुरगढी संरक्षणमा नेपाली सेनाले विविध कार्यक्रम गरेको उनले जनाए।

उनले सामाजिक कार्यमा सक्रिय सेनाले सुन्ने शक्ति कमजोर भएका विद्यार्थीहरूलाई प्रमुख प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षणको कार्यक्रम गरेको बताए। साथै सो विद्यालयका विद्यार्थीहरूलाई महिनावारी तथा सचेतना मूलक कार्यक्रम गर्नुका साथै छात्राहरूलाई निःशुल्क सेनीटरी प्याडको वितरण गरिने नेपाली सेनाले जनाएको छ।

सो अवसरमा नेपाली सेनाका सहायक रथी तथा श्री नम्बर ९ बाहिनी अड्का बाहिनीपति शक्तिजंग बस्नेतले सैनिक नागरिक सम्बन्धलाई थप मजबुत बनाउन नागरिकहरूसँगको सहकार्यमा नेपाली सेनाले जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अनुसार बहिरा विद्यार्थीको स्वास्थ्य परीक्षणको कार्यक्रम गरिएको जानकारी दिए।

नेपाली सेनाले महिला विद्यार्थीहरूमा चिकित्सकबाट मासिक महिनावारी सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन र सामाग्रीहरू वितरण गर्ने कार्यक्रमले महिला विद्यार्थीमा विशेष ज्ञान अभिवृद्धि हुने सहायक रथी बस्नेतले जनाए। नेपाली सेनाले विपद्का साथै अन्य समयमा समेत विभिन्न सामाजिक कार्य जिल्लामा गर्दै आएको छ।

नवज्योति बहिरा विद्यालयमा देशभरका विभिन्न जिल्लाबाट विद्यार्थीहरूलाई लिएर अभिभावक आउने र भर्ना गरेर जाने गरेको विद्यालयले जनाएको छ। 'हामी विद्यार्थीका अभिभावकले भनेकै कुरालाई आधिकारिक मानेर विद्यार्थी भर्ना लिने गर्छौ' उनले भने, 'यहाँ भर्ना भएपश्चात् निश्चित सहयोग नेपाल सरकारले गर्छ सोही आधारमा विद्यालयले शिक्षा सहित सबै निःशुल्क रूपमा दिँदै आएको छ।'

प्रकाशित: २५ फाल्गुन २०७९ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App