१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मृर्गौला प्रत्यारोपण

पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृर्गौलाको सफल प्रत्यारोपण भएको छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा नवलपरासीको बर्दघाट नगरपालिकाका २२ वर्षीय युवकको मृर्गौला प्रत्यारोपण गरिएको हो। युवकलाई उनकी ४३ वर्षीया आमाले मृर्गौला दिएकी थिइन्।

मृर्गौला प्रत्यारोपणको नेतृत्व राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले गरेका थिए। ‘पश्चिम नेपालमा पहिलो पटक गरिएको मृर्गौला प्रत्यारोपण सफल भएको छ,’ राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठले भने, ‘पश्चिम नेपालका मृर्गौला प्रत्यारोपण गर्नुपर्ने विरामीहरुका लागि अव काठमाडौं धाइरहनुपर्ने बाध्यता हुने छैन्।’

अबको एक वर्षसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक र प्रत्यक्ष निगरानीमा कर्णालीमा मृर्गौला प्रत्यारोपण हुनेछ। ‘विस्तारै यहीँको जनशक्तिलाई सिप हस्तान्तरण गछौं,’ उनले भने, ‘कर्णाली प्रदेश अस्पतालको उच्च प्रविधि र दक्ष जनशक्तिले उत्कृष्ट सेवा दिनेमा हामी पूर्ण विश्वस्त छौं।’

डा. श्रेष्ठले अहिले मृर्गौला प्रत्यारोपण गर्ने विरामीहरुको चाँप राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अत्याधिक रहेकाले अब त्यस्ता विरामीहरुलाई सुर्खेतमा स्थानान्तरण गरिने बताए। ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको मृर्गौलाका विरामीहरुको चाँपलाई ध्यानमा राखेर मृर्गौला प्रत्यारोपण देशभर विस्तार गर्ने लक्ष्य हामीले राखेका छौं,’ उनले भने, ‘सोही लक्ष्य अनुसार पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको हो।’

डा. श्रेष्ठले कर्णाली प्रदेश अस्पतालको व्यवस्थापकीय र चिकित्सकहरुको टीम उत्कृष्ट रहेकाले मृर्गौला प्रत्यारोपणमा सहज भएको बताए। ‘अप्रेशन थिएटर, उपकरणहरु आधुनिक छन्,’ उनले भने, ‘चिकित्सकदेखि अस्पतालको वातावरण पनि उत्कृष्ट रहेकाले काम गर्न सहज भयो।’ उनले तत्कालका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट केही चिकित्सकहरुको टीम महिनामा दुई पटक आएर मृर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए।

कर्णाली प्रदेश अस्पतालमा नवलपरासीका २२ वर्षीय युवकको मृर्गौला प्रत्यारोपण गरिँदै।

कर्णाली प्रदेश अस्पतालमा मृर्गौला प्रत्यारोपणका लागि गत वर्ष चैतमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग संझौता भएकोे थियो। स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिले मानव अंग प्रत्यारोपणको अनुमतिपछि शनिबार २२ वर्षीय युवकको मृर्गौला प्रत्यारोपण गरिएको हो।

प्रदेश अस्पतालका निर्देशक डा. खड्काले झण्डै १० महिनाको प्रयासपछि मृर्गौला प्रत्यारोपण गर्न आफूहरु सफल भएको बताए। ‘यो अवधिमा राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग संझौता ग¥यौं, विभिन्न निकायहरुबाट अनुमति लियौं, चिकित्सक र नर्सिङ कर्मचारीहरुलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तालिमका लागि पठायौं,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर मृर्गौला प्रत्यारोपण सुरु गरिएकाले वीचमा रोकिने भन्ने हुँदैन्।’

डा. खड्काले केही समयका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रत्यक्ष निगरानी र चिकित्सकहरु आएर मृर्गौला प्रत्यारोपण हुने पनि बताए। ‘अहिलेलाई मृर्गौला दिने र लिनेको कानुनी प्रक्रिया र व्यवस्थापकीय प्रक्रिया राष्ट्रिय प्रत्यारोपण केन्द्रमै पूरा भएपछि यहाँ (कर्णाली प्रदेश अस्पताल) प्रत्यारोपण गरिन्छ,’ उनले भने, ‘केही समयमै कानुनी र व्यवस्थापकीय प्रक्रिया पनि यहीँ पूरा गर्ने तयारी थालेका छौं।’

मृर्गौला प्रत्यारोपण गरिएका व्यक्तिले बैदेशिक रोजगारीमा रहेकाले मृर्गौलामा समस्या आएको थाहा पाएका थिए। विदेशमा उपचार महंगो पर्ने र मृर्गौला दिने व्यक्ति पनि नहुने भएपछि उनी स्वदेश फर्किएका थिए। मृर्गौला प्रत्यारोपणका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगेका उनलाई चिकित्सक टोलीले सुर्खेत ल्याएर आएको थियो। उनले प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालनका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरुलाई केन्द्रमा तालिकमा लागि पठाइने बताए।

अस्पताल प्रशासनका अनुसार मृर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा. श्रेष्ठसहित शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मीत श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलोजिष्ट डा. समीर दवाडी संलग्न थिए भने कर्णाली प्रदेश अस्पतालकातर्फबाट निर्देशक डा. खड्कासहित शल्य चिकित्सक डा. गणेश थापा, डा. विकाश खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कलराज शाहीलगायतको टीम संलग्न थियो। राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रले हालसम्म एक हजार ११ जनाको मृर्गौला प्रत्यारोपण गरिसकेको छ भने नौ जनाको कलेजो प्रत्यारोपण गरिएको छ।  

प्रकाशित: २२ माघ २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App