गर्भवती महिलामा आयोडिनको कमी भएमा भ्रूणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने सम्मको खतरा रहने स्वास्थ्यकर्मीले बताएका छन्। साथै, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक वृद्धि-विकास अत्यन्त कम हुने हुनाले बालबालिकाहरू गलगाँड, लाटा, लठेब्रा तथा सुस्त मनस्थितिका हुने उनीहरुले बताए।
फ्रेबअरी महिना: आयोडिन महिनाको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले बुधबार (फ्रेवअरी महिनाको पहिलो दिन) गरेको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले यस विषयमा सवैतिर जानकारी पुर्याउनु आवश्यक भएको खाँचो औँल्याए। जनस्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आयोडिनको विषयमा लामो प्रस्तुतीकरण गर्दै विशेष गरेर आयोडिनको कमी गर्भवती महिला र बालबालिकाहरूमा हुन नहुने बताए।
सरकारले हरेक वर्ष आयोडिनको कमीबाट हुने रोगबाट बच्न फ्रेवअरीको एक महिनालाई आयोडिन महिनाको रुपमा मनाउँदै आएको छ। आयोडिनयुक्त नुनको प्रयोगलाई बढाउँदै आयोडिनको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले अङ्ग्रेजी वर्षको फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ। सन् १९९८ देखि फे्रबअरी महिनालाई आयोडिन महिनाका रुपमा विश्वभर मनाउँदै आइएको छ। चिकित्सकका अनुसार आयोडिनको कमीले गलगाड पनि हुने गर्दछ।
कार्यक्रममा भक्तपुर अस्पतालका प्रमुख डा रत्नसुन्दर लासिवाले आयोडिनको कमीबाट हाइपोथाइराडिज्म चर्किएको बताउँछन्। त्यस कारण आयोडिन पुग्ने मात्रामा खानुपर्ने आवश्यकता उनले औँल्याए।
लामो समयदेखि सरकारले नुनमा आवश्यक मात्रामा आयोडिन मिलाई साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाउँदै आएको छ। यही कारण सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको रोग नियन्त्रण शाखाका दीपक अछामीका अनुसार आयोडिनको कमी हुँदा थाइरोइड ग्रन्थिमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष वा परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ।
नेपालमा आयोडिन प्राप्त गर्न आयोडिनयुक्त नुन नै खानु पर्छ। सरकारी संयन्त्रमार्फत आवश्यक मात्रा ५० पिपिएम आयोडिन छरेको (आयोडाइजेसन) गरी थैलोमा बन्द गरिएको नुनलाई सही किसिमले उपभोग गरेमा मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ। ५० पिपिएम आयोडिन नुनमा मिलाइएको भए पनि बजारमा भण्डारण, घाम–पानीले आयोडिन नष्ट हुने र तातो ठाउँमा राम्ररी बिर्को बन्द नगरेमा आयोडिनको मात्रा कम भए पनि कम्तीमा १५ पिपिएम आयोडिन खाद्य पदार्थमा बाँकी रहेसम्म झन्डै आयोडिनको मात्रा पुग्ने कार्यक्रममा बताइयो।
सूक्ष्म पोषकतत्व आयोडिन थाइरोइड ग्रन्थिलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्नका लागि अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। यसले शारीरिक, मानसिक बृद्घि र पाचन प्रणालीलाई सहयोग पुर्याउँछ। आयोडिन गर्भवतीदेखि जन्मेका शिशुका साथै बढ्दो उमेरका बालबालिका लगायत शारीरिक तथा मानसिक वृद्धि÷विकास मात्र नभई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पर्ने सूक्ष्म पोषक तत्त्व हो। आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीरबाहिर निकाल्छ भने वयस्कलाई भन्दा शिशुलाई बढी मात्रा आयोडिनको आवश्यकता पर्दछ।
त्यस कारण सकेसम्म ५० नभए पनि नभई नहुने १५ पिपिएम आयोडिन पाउने गरी खानुपर्छ। यसको लागि सरकारले दुई बालबालिकाको लोगो अंकित नुनको प्याकेट (आयो नुन, शक्ति, तेज नुन र भानुजस्ता नुन) मा आयोडिन मिसाएको हुनाले दुई बालबालिकाको लोगो भएको नुन मात्र उपभोग गर्नुपर्छ।
प्रकाशित: १८ माघ २०७९ १७:०७ बुधबार