१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वायु प्रदूषण ‘जोखिमपूर्ण’

वायु प्रदूषणबारे छलफल गरिँदै। तस्बिर: भीम/नागरिक

विभिन्न कारणले हावा दूषित हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ। प्राकृतिक र भौगोलिक हिसाबले आकर्षक इलामसमेत हावा प्रदूषण हुने समस्याबाट अछुत रहन नसकेको देखिएको छ।

भारतीय सीमा क्षेत्र नजिकै हुनु, कृषिमा प्रयोग हुने रासायनिक विषादी, फोहोर डढाउन प्रयोग गरिने आगो र सवारी साधनलगायतका कारण वायु प्रदूषण हुने गरेको छ। इलाममा समेत यही कारणले वायु प्रदूषण भइरहेको देखिएको हो।

इलाम उद्योग वाणिज्य संघ स्थित अमेरिकी कर्नरमा राखिएको वायु प्रदूषण मापक यन्त्रले यहाँको वायु प्रदूषित भइरहेको देखाएको छ। करिब दश मिटर वरिपरिको मात्रै मापन गर्न सक्ने यो यन्त्रले इलामको वायु प्रदूषणको अवस्था जोखिमपूर्ण देखाएको क्लिन इनर्जी नेपालकी कार्यक्रम अधिकृत अञ्जु कोइरालाले जानकारी दिइन्।

‘यो यन्त्रले टाढाको त मापन गर्दैन तर कुनै ठाउँको वायु प्रदूषण हुने बित्तिकै अरूतिर पनि त्यो असर देखिन्छ,’ उनले भनिन्, ‘यो एउटा संकेत हो, धेरैतिर यो यन्त्र राखेर वायु प्रदूषण जाँच गर्नु आवश्यक छ।’

उनले विश्वका ९९ प्रतिशत मानिस वायु प्रदूषणको खतरामा रहेको विवरण प्रस्तुत गरिन्। निम्न आय भएको देशका करिब ७० लाख मानिसको हरेक वर्ष वायु प्रदूषणकै कारण मृत्यु हुने गरेको तथ्याङ्क छ।

‘नेपाल विश्वमै वायु प्रदूषणमा भारतपछि दोस्रो स्थानमा देखिन्छ,’ उनले भनिन्, ‘मानिसले नचाहेर पनि वायु प्रदूषणको शिकार हुनुपर्ने भएकाले सबैको सहकार्यले मात्रै प्रदूषण नियन्त्रण गर्न सकिन्छ।’

वायु प्रदूषण बढ्दो अवस्थामा रहे मानिसको आयु पनि कम्तीमा ५ वर्ष कम हुने देखिएको भन्दै उनले मानिसको नेपालको मृत्युदर विश्वका अन्य देशको तुलनामा बढी नै रहेको बताइन्। वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजारको मृत्यु भएको र यसमा ५ वर्ष मुनिकाको संख्या दश प्रतिशत रहेको पनि कोइरालाले जानकारी दिइन्।

कृषि विज्ञ डा.योगेन्द्रमान श्रेष्ठले वायु प्रदूषणको दर बढिरहेपनि नियन्त्रण गर्ने क्रियाकलाप सञ्चालन हुन नसकेको बताए।

‘कुनै काम गर्न आर्थिक दायित्व कसले लिने भन्नै नै अन्योल हुँदो रहेछ,’ उनले भने, ‘यही कारणले वायु प्रदूषण नियन्त्रणमा तीनै तहका सरकारका कुनै योजना बन्न सकेका छैनन्।’ 

उनले नेपालभित्र प्रदूषणको अवस्था ठुलो नभए पनि सीमा क्षेत्रका सहरले यहाँको वायु प्रदूषण गराउने गरेको बताए।

‘मेरो अध्ययनले चाहिँ नेपालले आफैँ चाहिँ ठुलो वायु प्रदूषण गरेको छैन,’ उनले भने, ‘विराटनगर, वीरगन्ज र काठमाडौँमा बढी प्रदूषण छ। सीमाका बजारमा बढी छ।’

डा.श्रेष्ठले वायु प्रदूषण नियन्त्रणमा विज्ञको सुझाव लिनुपर्ने बताए। उनले अहिले नेपालको वायु प्रदूषणबारे ठोस अध्ययन नभएकाले योजना बन्न नसकेको जनाए। ‘अहिले नेपालको वायु प्रदूषणको अवस्था अध्ययन भएकोजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘अवस्था थाहा नभई कसरी योजना बनाउने ? त्यसैले यसको अध्ययन हुनपर्छ र नियन्त्रण योजना बन्नुपर्छ।’

इलाम नगरपालिकाको वातावरण शाखा प्रमुख लुना खतिवडाले इलाम नगरले सरसफाइ र प्रदूषण नियन्त्रणको प्रयास गरेको बताइन्। उनले नगरले विपद् व्यवस्थापन ऐन जारी गरेको, विपद् व्यवस्थापनका लागि आकस्मिक कोष व्यवस्था, पालिका स्तरीय र वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन भएको बताइन्।

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि बनेको पनि उनको भनाइ छ। फोहोर मैला व्यवस्थापन तथा सर-सफाइ कार्यविधि र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रसमेत नगरमा स्थापित छ।

इलाम नगर २०६७ असोज १५ देखि पोलिथिनमुक्त घोषित छ। ‘यो नगर सफा सहर प्रतियोगितामा ३ पटक पुरस्कृत भएको छ,’ उनले भनिन्, ‘वातावरण तथा जलवायु उत्थानशीलता क्षेत्रमा उत्कृष्ट छ भने नेपाल सरकारबाट हरितनगर घोषणा भएको छ।’ तर, वायु प्रदूषण नियन्त्रणमा नगरले निरन्तर कार्य गरिरहने जनाइन्।

प्रकाशित: १४ माघ २०७९ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App