१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जाडोमा छालालाई कसरी जोगाउने?

मानिस सुन्दर देखिन उसको छालाको भूमिका महत्वपूर्ण हुन्छ। तर कहिलेकाहि त्यहि छालाको राम्रो स्याहार गर्न नसक्दा शरिरमा विभिन्न समस्या आउन सक्छन्। चिसोमा होस वा तातो समयमा हामीले समयअनुसार छालाको ख्याल गर्नुपर्दछ।

जाडोमा हामीलाई घाम देख्नै हुदैन, हामी घाममा गएर बसिहाल्छौं। जाडो छल्नका लागि सबैभन्दा राम्रो उपाएका रुपमा लिइन्छ घाम ताप्नुलाई। तर जाडो छल्नका लागि धेरै घाम ताप्दा हाम्रो छालामा धेरै समस्या देखिन सक्छ। जाडोमा धेरै घाममा बस्दा अनुहारमा चाया, पोतो बढ्ने छाला तथा सौन्दर्य विशेषज्ञ डा. अनिल दास बताउँछन्। घाम ताप्दा अनुहार सिधै घाममा नपार्न उनको सुझाव छ। घाममा बस्दा अनुहार छोपेर ताप्दा समस्या नदेखिने डा. दासको सुझाव छ। 

उनका अनुसार चिसो मौसम सुरु भएसँगै छाला फुट्ने, छाला सुक्खा हुने, छाला चिलाउने जस्ता समस्या अधिकांशलाई देखिने गर्छ। पानीको मात्रा शरीरमा कम हुने र शरीरमा भएको मुलायमपना कम हुँदै जादा अन्य छालासँग सम्बन्धित समस्या पनि देखिने गर्छ। त्यसकारण यो समयमा छालाको हेरचाह धेरै गर्नुपर्छ।  

चिसो समयमा धेरै छाला सुख्खा हुने समस्याहरु देखिने गर्दछ। सँगै चिसोको मौसममा छालामा एलर्जी हुने, छालामा देखिने कत्ले रोग बढ्ने, बालबालिकामा एम्टोपीक ड्रमोटाइटिस बढ्ने गर्दछ। चिसोमा धेरै घाममा बस्ने हुँदा अनुहारमा देखिएको चायाँपोतो बढ्ने पनि हुन्छ। चीसो समयमा बाहिरको वायुमा पानीको मात्रा निकै कम हुने र त्यसले हाम्रो छालालाई सुख्खा बनाइदिने उनी बताउँछन्।  

छाला तथा सौन्दर्य विशेषज्ञ डा. अनिल दास 

छाला सुख्खा भएमा चिलाउने, छालामा एलर्जी हुने, खटिरा आउने गर्दछ। चिसोमा छाला जोगाउनका लागि मोइस्चराइजर क्रिमहरुको प्रयोग धेरै गर्नुपर्दछ। शरीरका बाहिर देखिने भागहरुमा यस्ता क्रिमहरु लगाउनु पर्छ। चिसोको समयमा चिसो पानीले वा धेरै तातो पानीले नुहाउनु हुँदैन। मनतातो पानीले नुहाउनु पर्छ। ३० देखि ३५ डिग्री तातो पानीले नुहाउँदा राम्रो हुन्छ। विशेषगरी नुहाएपछि मोइस्चराइजर क्रिम अनिवार्य शरीरमा लगाउनु पर्दछ।  

डा. दासका अनुसार यो समयमा नुहाउँदा साबुन वा स्याम्पुलाई शरिर वा कपालमा धेरै समय राख्नु हुँदैन। त्यसले हाम्रो शरीरको छाला झन फुस्रो बनाउने गर्दछ। त्यसैले चिसोमा बडीवासले नुहाउँदा राम्रो हुन्छ। कतिपयलाई यो समयमा मोइस्चराइजर वा लोसन लगाउँदा पनि छाला छिट्टै फुस्रो देखिने हुनसक्छ। त्यस्तो समस्या धेरै मोइस्चराइजर प्रयोग नगरेका वा छाला सुख्खा हुने समस्या भएकाहरुलाई देखिने गर्छ।  

डा. दास  चिसो समयमा छालालाई राम्रो राख्न ग्लिसिरिन, मोइस्चराइजरयुक्त लोसन वा क्रिमहरुको प्रयोग गर्न सुझाव दिन्छन्। नरिवलको तेलले पनि छालालाई राम्रो राख्न सहयोग गर्छ। धेरै सुख्खा छाला भएकाहरुले यस्ता खालका क्रिमहरुको प्रयोग धेरै मात्रामा गर्नुपर्ने हुन्छ।  

चिसोमा छालालाई राम्रो राख्ने घरेलु उपायमध्येमा घ्यूको प्रयोग एक हो। हामिले घ्यूको प्रयोगबाट पनि छाला फुट्नबाट रोक्न सक्छौ। त्यस्तै नरिवलको तेल, सनफ्लावर तेलको प्रयोग गर्दा पनि छाला फुट्नबाट बचाउन सकिन्छ। छालालाई फुस्रो हुनबाट बचाउँनका लागि भित्रि कपडाहरु सुतिको लगाउनुपर्ने दास बताउँछन्।  

अनुहारको छाला कस्तो छ भनेर थाहा पाउन हामिले विभिन्न चेक जाँचहरु पनि गर्ने गर्दछौ। तर, हामीले हेर्ने वित्तिकै पनि कस्तो छाला हो भनेर थाहा पाउन सकिन्छ। घरमा नै बसेर आफ्नो छालाको बारेमा थाहाँ पाउन बिहान उठेर मुख धुने वित्तिकै अनुहारमा केहि नलगाई छाला छुने हो भने थाहाँ पाउन सकिन्छ। यदि मोइस्चराइजर प्रयोग गर्दागर्दै पनि छाला धेरै फुस्रो देखिएमा त्यो फुस्रो खालको छाला हो। कतिपयको छाला केही मात्रा फुस्रो र केही मात्रा ओइली हुने खालको पनि हुन्छ।  

छाला शरिरको बाहिरमा भागमा हुन्छ । त्यसैले पनि यो हाम्रो सुुन्दरताको अभिन्न अंग हो । यसको हेरचाह अनिवार्य छ। अझ जाडोयाममा छालालाई विशेष ख्याल गर्नुपर्छ भन्छन, डा. दास ।  

प्रकाशित: २६ पुस २०७९ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App