coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बेनीका करिब ९ प्रतिशत बालबालिकामा दृष्टि दोषको समस्या

बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन्। अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित भएका छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जोगाउँ अभियान अन्तरगत गलेश्वर मावि, राष्ट्रिय मावि घतान,गलेश्वर आर्दश मावि,जडभरत आमावि,बेनी सामुदायि मावि, बेनी आवासीय मावि, बालमन्दिर आमावि कालिपुल, बुद्ध एकेडेमी र सरस्वती आमावि बगरफाँटमा शिविर सञ्चालन गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक गरी २२ सय जना र सर्वसाधारण २२३ जनाको चेकजाँच गरिएको थियो।

त्यसैगरी गलेश्वर शिवालय क्षेत्र विकास कोष अन्तरगत सञ्चालित बृद्धआश्रम र गलेश्वरबासीले समेत चेकजाँच गरेको किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले बताए। शिविरमा डेढ सय चस्मा, औषधी वितरण गरिएको थियो भने थप १ सय ५० बिरामीलाई चस्मा उपलब्ध गराइने थियो। ‘पहिलो चरणको अभियान सकिएको छ,अब दोस्रो चरणमा बाँकी विद्यालयमा शिविर सञ्चालन हुने छ’ उपाध्यक्ष केसीले भने।

विद्यालयमा आयोजित शिविरमा चेकजाँच गर्दा ७ देखि ९ प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेलले भने। शिविरमा ग्रामिण क्षेत्रको तुलनामा बेनीबजार आसपासका क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको दृष्टि दोषको समस्या अधिक रहेको डा. ढुगेलको भनाइ छ। कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई,खेलकुद तथा नियमित शाररीक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएको दृष्टि विशेषज्ञ बिर्ख बोगटीले बताए।

बालबालिकालाई पोषिलो खानेकुरा,अनिवार्य खुवाउनुपर्ने र मोबाइल, टीभी, ल्यापटपजस्ता विद्युतीय सामग्री धेरै बेर हेर्न वा प्रयोग गर्न रोक लगाउनुपर्ने र अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद गतिविधिमा सहभागी बनाउन सकेमा आँखाको समस्या समाधानमा सघाउने दृष्टि विशेषज्ञ बोगटीले बताए।

म्याग्दीमा किवानिस इन्टरनेशनलले निकट भविस्यमा थप शिविर सहित विद्यालयका शिक्षकलाई आँखा सम्बन्धि उपचारमा सहज हुने गरी तालिमको समेत आयोजना गर्ने र समस्या पहिचान गरी उपचार गर्ने संस्थाका अभियान्ता भरत ढुंगेलले बताए। शिविरमा चस्मा, औषधी वितरण सहित थप उपचारका लागि पहिचान भएका बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ। विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले समस्या पहिचान र उपचारमा सहयोग मिलेको विद्यालयले जनाएको छ।

प्रकाशित: २१ पुस २०७९ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App