२३ माघ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मापदण्ड अनुसारको प्रक्रिया पूरा गर्न ताप्लेजुङका स्वास्थ्य संस्थालाई १५ दिने म्याद

जिल्ला अनुगमन समितिले ताप्लेजुङका मेडिकल हल र औषधि पसललाई पछिल्लो निर्देशिका अनुसार दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न १५ दिनको समय सीमा दिएको छ।

अनुगमनका क्रममा अधिकांश मेडिकल हल, औषधि पसल, चस्मा घर र दन्त क्लिनिकले पछिल्लो मापदण्ड अनुसारको प्रक्रिया पूरा नगरेको देखिएकोले ती प्रक्रिया पूरा गर्न समय सीमा सहित निर्देशन दिइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार यस्तो प्रक्रिया पूरा नगरेका मेडिकल हल, औषधि पसल, चस्मा घर र दन्त क्लिनिकलाई आवश्यक सिफारिसका लागि मापदण्ड अनुसारका कागजात सहित ७ दिन स्वास्थ्य कार्यालयमा सम्पर्क राख्न भनिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार ताप्लेजुङको फुङलिङ बजारमा सञ्चालित १० वटा मेडिकल, निजी अस्पताल तथा औषधि पसलको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा केही औषधि पसलमा मापदण्ड विपरीत औषधि र मच्छड मार्न प्रयोग हुने तरल पदार्थ (विषादी) एकै ठाउँ राखिएकोले त्यस्तो सामग्री तत्काल हटाई व्यवस्थापन गर्न लगाइएको समेत अनुगमन समितिले बताएको छ।

यस्तै कतिपय औषधि पसलहरूमा औषधि बाहेक अनुमति विपरीत कस्मेटिक सहितका सामग्री राखेको पाइएकोले त्यसलाई समेत व्यवस्थापन गर्न भनिएको छ। वरिष्ठ जनस्वास्थ्य अधिकृत घिमिरेले एक्स–रे सेवा दिईरहेका कतिपय निजी अस्पतालहरुको एक्स–रे सेवा मापदण्ड विपरीत रहेको पाइएकोले त्यसलाई तत्काल सुधार गर्न भनिएको बताए।

अनुगमन समितिले म्याद सिद्धिएका औषधि बिक्री कक्षबाट बाहिर राखी म्याद सिद्धिएको संकेत जनाई छुट्टै भण्डारण गर्न, सिरिन्ज लगायतका फोहोरजन्य सामाग्रीको उचित व्यवस्थापनमा ध्यान दिन समेत सुझाएको छ। सम्बन्धित स्थानीय तह सहितका निकायमा दर्ता तथा नवीकरण हुनुपर्ने मापदण्डको पूर्ण पालना गर्न समेत अनुगमन समितिले मेडिकल हल, औषधि पसल,चस्मा घर र दन्त क्लिनिकहरूलाई आग्रह गरेको छ।

समितिले दिएको समय सीमा भित्र प्रक्रिया पूरा नगरे थप कडाइ गर्ने नीति लिएको अनुगमन समितिले जनाएको छ।

प्रकाशित: २० पुस २०७९ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App