९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

उदयपुर जिल्ला अस्पताल। तस्विरः महेश्वर

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ। हाल ५० शैय्याको अस्पतालमा बिरामीको चाप दिनदिनै बढ्दै गएकाले २ सय शैय्यामा स्तरोन्नति गर्ने योजना अघि सारिएको हो।

बिगत ३ वर्षयता गाईघाट बजारलाई मदन भण्डारी लोकमार्गले पूर्व, मध्ये तथा पश्चिम भेगसँग जोडेसँगै मानव जमघट बाक्लो हुदै गएर पछिल्लो समय उपचारार्थ आउने बिरामीको चाप ह्वात्तै बढेको छ। स्थानीयतह पुनर्संरचनासँगै साविक गाविसका उपस्वास्थ्य चौकीहरु स्वास्थ्यचौकीमा स्तरोन्नति हुनुका साथै प्रत्येक स्थानीयतहमा १५ शैय्याको अस्पताल सञ्चालन हुन थलेकाले पनि जिल्ला अस्पतालमा बिरामीको चाप थेग्न नसक्ने अवस्था भएको हो।

हाल बेलका र चौदण्डीगढीमा १५–१५ शैय्याका नगर अस्पताल सञ्चालित छन्। त्यस्तै कटारीको १५ शैय्याको अस्पताल कटारी नगरपालिका मातहत राखेर बाल विशेषज्ञ सहितको उपचार सेवा सुरु भएको छ। अन्य ४ गाउँपालिकामध्ये लिमचुङब्ुङ, रौतामाई र उदयपुृरगढीले १५–१५ शैय्याका अस्प्ताल चलाइरहदा ताप्ली गाउँपालिकाले एकवर्षभित्र १५ शैय्या पु¥याउने गरी नयाँ भवन निर्माण थालेको छ।

स्थानीय अस्पताल र स्वास्थ्यचौकीहरुबाट रिफर भएर आउने तथा खोटाङ सदरमुकाम दिक्रेलको १५ शैय्याको जिल्ला अस्पताल, अन्य स्वास्थ्यचौकीहरु तथा ओखलढुंगाका दक्षिण पूर्वी भेगका स्वास्थ्यचौकीले रिफर गर्ने बिरामीलाई उपचार गर्ने लक्ष्यका साथ अस्पताल स्तरोन्नति योजना अघि सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताए। अस्पतालमा हालकै स्थितिमा बिरामीको चाप बढ्दै गएमा निकट भविष्यमा १० गुणा बढी हु्ने संभावनालाई मध्येनजर गर्दै बेड र संरचना थप्न लागेको झाले बताए।

‘अहिले कम्तीमा दैनिक ५ सयदेखि ८ सय हाराहारी बिरामी उपचारार्थ अस्पताल आउने गरेका छन्, यही रफ्तार कायम रहे आउँदो ४÷५ वर्षभित्र यो संख्या दश गुणासम्म बढ्ने निश्चित छ’ मेसु झाले भने ‘त्यसैले निकट भविष्यमै उपचार सेवा प्रभावकारी, सशक्त र सहज बनाउन पनि अस्पताल स्तरोन्नति गर्नैपर्ने बाध्यता हामीलाई छ।’ कम्तीमा २ सय बेडको बनाउन सकियो भने धरान, बिराटनगर र जनकपुरजत्ति विशेषज्ञ सेवाको उपचार गर्न सक्षम हुने उनको अनुमान छ।

अस्पताल स्तरोन्नतिो योजना अघि बढाइसकिएको झाले बताए। त्यसका लागि ७ वर्षअघिको अस्पताल गुरुयोजनालाई परिमार्जित गर्दै अर्को विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्न लागिएको छ। डिपिआर गर्न प्रदेश सहरी विकास डिभिजन बिराटनगरको प्राविधिक टोली प्रारम्भिक स्थलगत अध्ययन गरी फर्किसकेको छ । सहरी विकासले ढिलोमा ४५ दिनभित्र डिपिआर तयार गरेर अस्पताललाई बुझाउने र सोही अनुसार योजना ठोस गरेर बजेट माग गर्ने प्रक्रिया अघि बढाइने झाले बताए।

स्तरोन्नति गर्न अस्पतालमा कम्तीमा अढाईसय कोठाको अत्याधुनिक बहुतले नयाँ भवन, डा. तथा अन्य स्वास्थ्यकर्मी आवास, प्रशासनिक भवन, सुविधा सम्पन्न पार्किङ र फुलबारीसहितको बाह्य वातावरणीय भौतिक संरचनाको निर्माण गर्नुपर्ने परिकल्पना अस्पतालले गरेको छ। त्यस्तै आवश्यक विभिन्न यन्त्र, उपकरण, अक्सिजन प्लाण्ट (हालको प्लाण्टलाई नै स्तरोन्नति), चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी माग गर्ने प्रारम्भिक खाका बनाइने छ। 

अस्पताल स्तरोन्नति गर्न के कति बजेट आवश्यक चाहिन्छ भन्ने कुरा भने डिपिआर रिपोर्ट आएपछि मात्र ठोस हुने अस्पतालले जनाएको छ। प्रारम्भिक खाका अनुसार १ सय ५० करोडदेखि अढाईसय करोड (डेढदेखि अढाई अर्व)सम्म बजेट खाँचो पर्ने अनुमान गरिएको छ। ठूलो परियोजना हुने भएकाले एकैचोटी बजेट र संरचना निर्माण संभावना नभए पनि बहुवर्षीय योजना बनाएर काम गर्दा ३ देखि ५ वर्षभित्र योजना निर्माण गर्न सकिने आँकलन छ। अस्पताल प्रदेश सरकारमातहत रहे पनि त्यत्ति ठूलो योजना सम्पन्न गर्न संघीय सरकार र अन्य दातृ निकाय र स्थानीयतहहरुसँग सहयोग माग्नुपर्ने अवस्था आउने अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले दरबन्दी अनुसार दक्ष जनशक्ति सबै नभए पनि उदयपुर अस्पतालले अहिले पनि प्रभावकारी विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको छ। हाल कार्यरुत ९ जना विशेषज्ञ डा. सहित डेढदर्जन दक्ष चिकित्सकले उपचार गर्न आउने बिरामीलाई सकेसम्म रिफर नगरी सेवा गरेर फर्काउने गरेको खनालले बताए। हाल अस्पतालमा हाडजोर्नीतफ विशेषज्ञहरु मेसु झा र शसीरञ्जन प्रधान कार्यरत छन्।

प्रसुतितर्फ डा. मुकेश झा र डा. रितेश कर्ण विशेषज्ञ नै हुन् भने फिजिसिएन डा. राहुल रौनियार, बाल रोग विशेषज्ञ डा. निरज सिंह, एनेथेसिया (अप्रेसन गर्नुअघि बेहोस् बनाउने) विशेषज्ञ र आकस्मिक (इमरजेन्सी) सेवाका लागि विशेषज्ञ एमडिजिपी डा. प्रेम दास कार्यरत छन्। दन्त रोग विशेषज्ञहरु डा. नारायण चौधरी र डा. शकुन्तला श्रेष्ठ रहेको अस्पतालमा ८ जना मेडिकल अधिकृत (एमबिबिएस) डा.हरुले सेवा गर्दै आएको खनालले बताए।

हाडजोर्नी र जटिल खाले गर्भवतिको अप्रेसनमार्फत बच्चा निकाल्ने प्रसुति सेवा निकै प्रभावकारी रहदै आएको छ। हाडजोर्नीसँगै हर्निया, हाईड्रोसिल र एपेन्डीसाईटिसजस्ता रोगको सफल अप्रेसन यो अस्पतालले गर्दै आएको छ। केही दिनभित्रै अस्पतालमा विशेषज्ञ सर्जन पनि ल्याउने प्रक्रिया अघि बढिसकेको छ। अधिकृत खनालका अनुसार विशेषज्ञ सर्जन डा. ज्ञानेन्द्र यादवलाई ल्याउन अस्पताले प्रदेश मन्त्रालयमार्फत संघीय सरकारसमक्ष पत्राचार गरिसकेको छ। २ साताअघि पत्राचार गरेको र मन्त्रालयले स्वीकृतिका लागि प्रक्रियामा लगिसकेकाले स्वीकृत हुनेबित्तिकै सर्जन डा. को सेवा पनि अस्पतालले दिन थाल्ने खनालले बताएका छन्।

प्रकाशित: ८ पुस २०७९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App