८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

७ बर्षसम्म निशुल्क सेवा दिँदै आएको सरकारी अस्पताल सशुल्क बनाईंदै

सात बर्षसम्म निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको दोलखा सदरमुकाम चरिकोट स्थित बागमती प्रदेश सरकार मातहतको पशुपति चौलागाई स्मृति अस्पतालले निशुल्क सेवा हटाएर सशुल्क बनाउने तयारी थालेको छ।  

विदेशी लगानीको एउटा गैरसरकारी संस्थाले ७ बर्ष अघि विशेषज्ञ सहित निशुल्क सेवा दिने गरी १० बर्षका लागि जिम्मा लिएको यो अस्पतालको व्यबस्थापनबाट गत बर्ष उसले बीचैमा हात झिकेको थियो। त्यस यता प्रदेश सरकारकै स्रोत र अस्पतालका विभिन्न अन्य स्रोतबाट निशुल्क सेवा सुचारु गरिँदै आएको थियो।  

तर आर्थिक रुपमा बोझ थपिँदै जान थालेपछि अस्पतालले निशुल्क सेवा हटाएर सशुल्क बनाउने तयारी थालेको हो। त्यसका लागी अस्पतालले अन्यत्र जिल्लाका सरकारी अस्पतालको मूल्य मिल्ने गरी सुर्वसुलभ र सस्तो शुल्क निर्धारणका लागि अध्ययन गरिरहेको छ। ‘हिजो अन्तराष्ट्रिय गैर सरकारी संस्थाले लगानी गरेर निशुल्क स्वास्थ्य सेवा दिइरहेको रहेछ, आज उक्त संस्था हामीसँग छैन’, अस्पताल प्रमुख डाक्टर ज्ञानेश्वर श्रेष्ठले भने, ‘अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न बार्षिक करिब २ करोड जति रकमको भार थपिन्छ, हाम्रो आम्दानीको स्रोत भनेको क्यान्टीन र निजी फार्मेशी मार्फत उठ्ने घरभाडा मात्र हो, त्यसले भरथेग हुन सक्ने अवस्थै छैन’।  

श्रेष्ठले अस्पतालमा कार्यरत आधा कर्मचारीको तलब प्रदेश सरकारबाट आउने गरेको र आधाको तलब अस्पतालले आन्तरिक स्रोतबाट दिइरहेको सुनाए। ‘अस्पतालमा हाल ७२ जना कर्मचारी कार्यरत छन्। ती मध्ये स्थायी र करार गरेर ३४ जनाको तलब प्रदेश सरकारले पठाइरहेको छ।बाँकीको आन्तरिक स्रोतबाटै खुवाइरहेका छौं।’ उनले भने।

उनले अस्पतालले निर्धारण गर्ने शुल्क सर्वसुलभ र सस्तो हुने बताए। ‘अन्यत्रका सरकारी अस्पतालमा चलेको सरकारी दरकै शुल्क लिन्छौं, जुन असाध्यै सस्तो हुन्छ’ उनले भने। राजधानीका विर, टिचिङ लगायतका सरकारी अस्पतालमा समेत निशुल्क स्वास्थ्य सेवा नरहेको र अस्पताल व्यवस्थापनका लागि शुल्क लिने गरेको श्रेष्ठको तर्क छ। सरोकारवालाहरु सँग छलफल गरेर छिट्टै बस्ने अस्पताल व्यबस्थापन समितिको बैठकबाट नागरिकलाई बोझ नथपिने गरी सर्वस्विकार्य शुल्क निर्धारण गरिने उनले सुनाए। सेवाग्राहीलाई सुविधा दिनका लागि अस्पतालमा स्वास्थ्य विमा लागु गर्ने तयारी अस्पताल व्यवस्थापन समितिले थालेको अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताए।  

यस अघि प्राथामिक स्वास्थ्य केन्द्र रहेको अस्पताललाई तत्कालिन सरकारले न्याय हेल्थ नेपाल नामक गैरसकारी संस्थालाई निशुल्क उपचार सहितको बिशेषज्ञ सेवा दिने गरी २०७२ सालमा १० बर्षका लागी व्यबस्थापनको जिम्मा दिएको थियो। तर आफ्नो संस्थामा विदेशी अनुदान रोकिएको भन्दै गत बर्षको कार्तिक १६ गते उक्त ‘एनजिओ’ फर्केपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यही बर्षको मंसिर १८ गते चरिकोट सहित ५ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको थियो।  कार्तिकदेखी मंसिर महिना सम्मको उक्त एक महिने अवधीमा पुरानै कर्मचारी करारमा राखेर भीमेश्वर नगरपालिकाले यो अस्पताललाई नगर अस्पतालका रुपमा चलाएको थियो।    

पछि प्रदेश सरकारले दोलखा क्षेत्र नं २ का तत्कालिन प्रदेश सांसद स्वर्गीय पशुपति चौलागाईको नामबाट अस्पतालको नामाकरण गरेको थियो। अस्पतालमा सर्जरी, ओपिडी शल्यक्रिया सहित २७ प्रकारका सेवा उपलब्ध छन्। यस्तै आईसीयु, भेन्टिलेटर, डाईलोसेस, पिआईसियु लगायतका सेवा समेत विस्तार गर्ने तयारी अस्पतालले गरिरहेको छ। पशुपति चौलागाई स्मृति अस्पतालबाट बार्षिक ४० हजार बढीले सेवा लिने गरेको अस्पतालको रेकर्डमा उल्लेख छ।

प्रकाशित: ४ पुस २०७९ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App