८ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

मध्यपश्चिम विश्वविद्यालयमा दुई दिने सहकर्मी सिकाइ सेमिनार

मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा “पीअर लर्निङ सेमिनार” वीरेन्द्रनगर, सुर्खेतमा भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइद्वारा आयोजित दुई दिने सेमिनारको आइतवार उद्घाटन गरिएको हो।

प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले उच्च शिक्षाप्रदायक संस्थाहरूले समस्या अरूतिर नतेर्स्याई स्वमूल्याङ्कन गर्नुपर्ने बताए।

सहकर्मी सिकाइ बदलिंदो नवीन शिक्षण प्रविधिमा महत्त्वपूर्ण आधार हुने बताए। उच्च शिक्षामा देखापर्ने चुनौतीसँग जुध्न र सम्भावना खोजी गर्न सेमिनार उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरे।

आजका विश्वविद्यालयले विसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन सत्रमा कार्यक्रमका अध्यक्ष मध्यपश्चिम विश्वविद्यालयका कुलपति प्राडा ध्रुवकुमार गौतमले कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले अनुसन्धानको नयाँ प्रवृत्ति अन्तरविषयक भएकाले अन्तरविभाग, अन्तरविश्वविद्यालय स्तरमा ज्ञानको आदानप्रदान आवश्यक रहेको बताए।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) सञ्चालक परिषद्का नवनियुक्त अध्यक्ष प्राडा राजनबहादुर पौडेलले आफूलाई मात्र ज्ञानको सर्वोपरी नठानी परस्पर ज्ञान, सीप एवं अनुभव आदानप्रदान गर्न सहपाठी सिकाइ अपरिहार्य भएको बताए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका सभाध्यक्ष प्राडा ध्रुवकुमार गौतमले सेमिनारले नेपालका विश्वविद्यालयहरूको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्न र जनशक्तिलाई प्रविधि र अनुभवले कार्यदक्षतामा निपूर्ण बनाउन सहयोग पुर्‍याउने हुँदा यस्ता कार्यक्रम निरन्तरता दिइनुपर्ने बताए।

विभिन्न आठ विश्वविद्यालयका प्राध्यापकहरू सम्मिलित जारी सेमिनारले एकापसका सबल पक्ष अनुसरण गर्ने र कमी हटाई निखारपन ल्याउनुका साथै प्राज्ञिक अनुसन्धान तथा समग्र शैक्षिक विकासमा टेवा पुग्ने अपेक्षा गरे। उनले आआफ्नो संस्थाका उपलब्धि र अनुभव साटेर सिक्ने सिकाउने प्लेटफर्मका रूपमा सेमिनारलाई सदुपयोग गर्न सकिने बताए।

सेमिनारमा सुदूर पश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, मुसुम काउन्सिलका अध्यक्ष प्राडा राजनबहादुर पौडेल लगायतले सम्बोधन र शुभकामना व्यक्त गरेका थिए।

सहभागीहरूलाई स्वागत गर्दै मध्य्पश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा शोभाखर कँडेलले यो कार्यक्रम मनोरञ्जनका लागि नभई आपसी सहकार्य र मित्रता सुदृढ गर्ने महत्त्वपूर्ण चौतारी भएको बताए।

उद्घाटन कार्यक्रमको उद्देश्यबारे प्रकाश तालिम इकाइ संयोजक कल्पना पौडेल र सञ्चालन कमला तिवारीले गरेका थिए।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी, सोही विश्वविद्यालयअन्तर्गतका दश आंगिक क्याम्पसका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायत देशभरका आठ विश्वविद्यालयका प्राध्यापकहरूकाे सहभागिता थिए।

दोस्रो सत्रमा प्यानल छलफल र विभिन्न विश्वविद्यालयका शैक्षिक अभ्यास र अनुभव साटासाट गर्न प्रस्तुतीकरण र छलफल कार्यक्रम चलाइएको जानकारी कार्यक्रममा सहभागी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्रा. डा पुष्कर रिजालले बताए।

प्रकाशित: ७ पुस २०८२ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App