बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् उनी ।
धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाइरहेका उनले धनगढीमा घरजग्गा र घर जोडिसके । ‘पढे लेखेकाहरुले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ यही व्यवसायमा रमाइरहेको छु,’ सानका साथ उनले भने ।
धेरै वर्ष भारतमा बिताएका उनी अहिले ५६ वर्षका भए । ३८ वर्षको उमेरमा विवाह गरे । दुई छोरालाई बोर्डिङ पढाइरहेका उनी आफ्नै ठाउँमा बसेर सहजै जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । अछाम पुर्ख्यौली घर भएका उनी भन्छन्, ‘कामको खोजीमा विदेशिने युवाहरुलाई आफ्नै भूमिमा उद्यम गर्न सल्लाह दिन्छु ।’
सुरुका दिनमा छोरा पढिरहेको धनगढीको एक विद्यालयमा मासिक शुल्क बुझाउन जाँदा हेयको दृष्टिले गरिएको व्यवहारले अपहेलित महसुस गरेका उनी अर्को दिन भने आफूले विद्यालयका कर्मचारीसँग अग्रेजी भाषामा जवाफ फर्काउँदा शिक्षकले राम्रो व्यवहार गरेको अनुभव सुनाए ।
‘आफूसँग योग्यता भएमा कति कदर हुँदो रहेछ भन्ने यो घटनाले सिकायो’, उनी भन्छन्, ‘त्यसपछि भने छोराछोरीको स्कूल जाँदा राम्रो व्यवहार हुने गरेको छ ।’
उनको साइकल मर्मत गर्ने टहरोमा दिउँसो अधिकांश बुद्धिजीवी र समाजसेवीहरु आपसमा देशको सामाजिक, आर्थिक, राजनीतिकलगायतका विषयमा गफिन आउँछन् ।
‘अहिलेको युवापिँढीका निम्ति श्रमको सम्मान गर्नुपर्छ भनेर बुढाक्षेत्री उदाहरण बन्नुभएको छ’, उनको टहरोमा गफिँदै गरेका सुदूरपश्चिम विश्व विद्यालयका पूर्वडीन पदमकान्त जोशीले भने, ‘स्नातकोत्तर अध्ययन गरिरहनु भएपनि उहाँको मेहनत र परिश्रमलाई अन्य शिक्षित बेरोजगारका लागि उदाहरणीय काम हो ।’ रासस
प्रकाशित: ६ आश्विन २०८२ २१:०४ सोमबार





