२ माघ २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

कारागारभित्रका ‘हेडमास्टर’

सुन्धारास्थित जगनाथ देवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कँदै छन् । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै छन् ।

कारागारभित्र असल चालचलन गरेबापत तोकिएको कैदी सजायमा केही माफी मिनाहा (छुट) समेत पाएर उनीहरू जेलबाट निस्कन लागेका हुन् । आन्तरिक जेल प्रशासनको जिम्मेवारी बाँडफाँटअनुसार कैदीबन्दीको पठनपाठनका सन्दर्भमा विद्यालयको नेतृत्व गर्दै आएका उनीहरूको वार्षिक रूपमा ७२ दिन तोकिएको सजायमा माफी मिनाहा हुने गरेको छ ।

अपराध गरेबापत सजाय भुक्तानीका लागि जेल पर्नुअघि जस्तै अहिले बाहिर निस्कने बेला पनि उनीहरूलाई फेरि निद्रा लाग्न छाडेको छ । समाजमा पुगेपछि प्रारम्भिक दिनमा कसरी घुलमेल हुने भन्ने फिक्री एकातिर छ भने अर्कोतर्फ दश वर्षसम्म सँगै खाई–खेली बसेका साथीभाइ तथा शिक्षक र विद्यार्थीको दैनिकीबाट अलग हुनुपरेकामा चिन्ता छ ।

कतिपय परिबन्धमा परेकोबाहेक समाजमा नराम्रो कर्म गर्नेलाई थुनामा राख्न कारागार पठाइने भएकाले ‘जेल’ भनेपछि सबैको सातो जान्छ । ‘त्यो दिन अबेर नै भइसकेको थियो, जेलभित्र छिर्दै गर्दा पछुतो र अन्धकारजस्तै लाग्यो । पछि त्यहाँका नियमपालनमा अभ्यस्त भइयो । बाहिर कल्पना गरेको जस्तो भित्र कहालीलाग्दो स्थिति छैन,’ कारागार प्रवेश गरेको क्षण सम्झँदै महिला विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक भन्छिन्, ‘यहाँभित्र आन्तरिक प्रशासन छ, योग्यता र क्षमताअनुसार नाइके, भाइनाइके, चौकीदार हुँदै सरकारी तलबभत्ता खाने ‘हेडमास्टर’को जिम्मेवारी पाएँ, जुन मैले कल्पनासमेत गरेकी थिइनँ ।’

केन्द्रीय कारागारका प्रशासक कृष्णप्रसाद चापागाईँ नेपाल सरकारकै पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन हुने तीनवटै विद्यालयको पढाइ अब्बल रहेको बताउँछन् । एकातिर मुद्दा मामिला तथा पारिवारिक बिछोडको तनाव, अर्कोतर्फ निरन्तर अड्डा अदालत धाउनुपर्ने झन्झटका बीचमा पनि यहाँका विद्यार्थी अथक मेहनतका कारण विद्यालयले अब्बल नतिजा प्राप्त गर्न सफल भएको छ ।

जेनजी आन्दोलनका क्रममा केही कैदीबन्दी फरार भएकाले विगतका तुलनामा पछिल्लो समय विद्यार्थी सङ्ख्या घटेको छ । साँघुरो ठाउँमा कोचाकोच गरेर बस्नुपरे पनि ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ शिक्षक र विद्यार्थी सधैँ सँगै बस्ने भएकाले जान्न र सिक्न चाहने विद्यार्थीका लागि जेलभित्र जुनसुकै बेला अनुकूल वातावरण छ ।

कारागारभित्रका विद्यालयबाट गएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २१ जना विद्यार्थी सहभागी भएकामा छ जनाले ए–प्लस नतिजा प्राप्त गरेका थिए भने उच्च माध्यमिक तहमा पनि सोही अनुपातको परिणाम प्राप्त भयो । मुद्दाका सिलसिलामा कतिपयले दिउँसो अदालतमा उपस्थिति हुनुपर्ने तथा केही बिरामीका कारण अस्पताल जानुपर्ने भएकाले जेलभित्रका सबै विद्यालयमा बिहानी सत्रमा पढाइ हुँदै आएको छ ।

उमेर समूहका हिसाबले पनि यहाँका विद्यार्थीको उमेर अभिलेखकै रूपमा राख्न योग्य देखिन्छ । अरू विद्यालयमा विद्यार्थीले बालिग नहुँदै विद्यालय छोड्ने गर्छन् भने जेलमा १८ वर्ष उमेर नाघेकालाई मात्र राखिने भएकाले बालिग भएपछि मात्रै स्कुल भर्ना हुने मौका पाइन्छ । भद्रबन्दी गृहमा हाल ८१ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् ।

भद्रबन्दी सुधार गृह, केन्द्रीय बन्दी सुधारगृह र महिला बन्दी सुधारगृहमा गरी करिब ७०० विद्यार्थी रहेको भनिए पनि जेनजी आन्दोलनपछि त्यो सङ्ख्या घटेर ३८० को हाराहारीमा झरेको छ । त्यहाँका शिक्षकको तलबभत्ता काठमाडौँ महानगरपालिकाबाट उपलब्ध हुँदै आएको छ ।

कारागारभित्रका विद्यालयमा शिक्षक र निर्धारित पाठ्यसामग्री उपलब्ध भए पनि पूर्वाधार र नवीनतम प्रविधिको प्रयोगसम्बन्धी विषयमा सुधारको खाँचो देखिएको छ । कक्षा पाँचसम्मको पढाइ हुँदै आएको विसं २०५३ मा स्थापित महिला बन्दी विकास आधारभूत विद्यालयका प्रधानाध्यापक लिम्बूका अनुसार विद्यालयमा अध्ययनरत ७९ विद्यार्थीमध्ये १८ वर्षदेखि ७२ वर्षसम्मका छन् । तोकिएको कैद भुक्तानीपछि बाहिरिने भएकाले विद्यार्थी सङ्ख्या घटबढ भइरहन्छ ।

जेनजी आन्दोलनअघि उक्त विद्यालयमा १५३ विद्यार्थी थिए । आन्दोलनका क्रममा भागेका कैदी फर्कने क्रम जारी रहेसँगै विद्यार्थी सङ्ख्या पनि बढ्दै गएको छ । प्रधानाध्यापक लिम्बू भन्छन्, ‘बालबालिकालाई पढाउन सजिलो हुन्छ, उमेर छिप्पिएकोलाई पढाउन निकै कठिन हुन्छ । मुद्दा मामिला र घर–परिवारको तनावमा रहेकालाई झन् कठिन हुन्छ । पढाइ एकातिर हुन्छ, ध्यान अर्कोतिर जान्छ । घर–परिवारका कथा सुनाउनुपर्छ, कतिपय रुन्छन्, अनि आफैँ फर्किन्छन् ।’

शिक्षकका लागि दैनिक रुटिन, परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण तथा खर्च विवरण चुस्त राख्नुपर्ने कार्य झन्झटिलो लाग्ने गरेको उनी अनुभव सुनाउँछन् । एउटा अपराध कर्ममा १० वर्षअघि जेल प्रवेश गरे पनि आफूलाई सुधार्दै प्रधानाध्यापक बनेका उनी केही महिनाभित्रै थुनामुक्त हुँदै छन् । छिट्टै कारागारमुक्त हुनेमा जेलभित्र सञ्चालित छिमेकी दुवै विद्यालयका प्रधानाध्यापक पनि रहेको बताइएको छ ।

सरकारले उनलाई आधारभूत विद्यालयको तलब उपलब्ध गराएको छ । जेलभित्रकै कमाइले आफूलाई लागेको बिगोअनुसारको जरिवाना तिर्न सक्षम भएका छन् । अब केही दिनमै ‘हेड मिस’ का रूपमा जेलबाट बाहिरिँदै छन् । कारागारभित्रका शिक्षक–शिक्षिकाले नसोचेको फल प्राप्त गरेकाले जेलभित्रको कमाइ अमूल्य लागेको बताउँछन् । जेलभित्र पुगेका धेरै निरक्षरलाई साक्षर बनाउँदै राज्यको साक्षरता अभियानमा सहयोग पुगेको छ भने कतिपय प्रतिस्पर्धामा अब्बल प्रमाणित भएका छन् ।

जेलभित्र रहेर पनि बाहिरका विद्यालयसरह तलब–सुविधा पाउनु र पाका विद्यार्थीबाट हेडमास्टरको सम्मान पाउनु प्रधानाध्यापकका लागि फरक अनुभूति बनेको छ । नामसमेत लेख्न नजान्ने कतिपय कैदीबन्दी अहिले कक्षा १२ को परीक्षामा सहभागी छन् । महिला विकास बन्दी विद्यालयबाट ७२ वर्षीया महिला यस पटक कक्षा १२ को परीक्षाको तयारीमा छन् । उक्त विद्यालयमा प्राप्त दुई स्वीकृत दरबन्दीको रकम बाँडफाँट गरी आठ जना शिक्षिकाको व्यवस्था गरिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने भद्रबन्दी गृहमा सञ्चालित बन्दी विकास आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक रविन चालिसेका अनुसार विद्यालयमा १८ देखि ८१ वर्ष उमेर समूहका ८४ विद्यार्थी छन् । पढाइलेखाइ गर्न उमेरले नछेक्ने तथ्य यस उमेर समूहले पुष्टि गरेको छ । कैदीलाई जेलभित्र औपचारिक शिक्षा दिन सरकारले २०१४ सालमा भद्रबन्दी विद्यालय स्थापना गरेको थियो । उक्त विद्यालयबाट एक दशकमा मात्रै १०० भन्दा बढीले आधारभूत तह उत्तीर्ण गरेका छन् ।

जेनजी आन्दोलनअघि उक्त विद्यालयमा १७४ विद्यार्थी थिए । सबै फर्किएका छैनन् । सबै विद्यार्थीलाई निःशुल्क पाठ्यसामग्री उपलब्ध छ । पाठ्यक्रम पनि निःशुल्क छ । निमावि तहको एक स्वीकृत दरबन्दीसहित हाल विद्यालयमा १० जना शिक्षक र एक जना सहयोगी छन् । विद्यालयको नतिजा राम्रो छ । सबै विधामा पोख्त मानिस कारागारमा रहेकाले विषयगत शिक्षकको अभाव छैन ।

विद्यालयमा सिकाइका नयाँ प्रविधिको पहुँच नभएकाले समयअनुसारको शिक्षा दिन नसकिएको चालिसे बताउँछन् । केही दिनअघि मात्रै जेलमुक्त भएका उनी भन्छन्, ‘कारागारभित्र प्रविधिको पहुँच नभएकाले विद्यार्थीलाई प्रविधिमा अभ्यस्त बनाउन सकिएको छैन । कैदीलाई विभिन्न शीर्षकमा आएको पैसाबाट कलम र कापी किनेर दिन्छौँ ।’ उनका अनुसार कारागारको पढाइ प्राविधिमैत्री बनाउँदै जेलबाट निस्किएपछि समाजमा पुनर्मिलन गर्न सक्ने खालको हुनुपर्छ ।

कक्षा १२ सम्म अध्ययन हुने केन्द्रीय कारागारस्थित जगनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धव बस्नेतका अनुसार गत भदौ २४ सम्म ३९६ विद्यार्थी रहेकामा त्यो सङ्ख्या घटेर हाल २१६ पुगेको छ । भागेकाहरू फर्कने क्रम जारी छ । व्यवस्थापन विषयमा कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा ६५ वर्ष उमेर समूहका विद्यार्थी पनि छन् । बस्नेत भन्छन्, ‘मुद्दा र पारिवारिक तनावबीच २१ जना सहभागी भएको एसइईमा छ जनाले ए–प्लस ल्याए, अरूको पनि ए र बी–प्लस आएको छ ।’

कारागारभित्र डाक्टर, इन्जिनियर, पाइलटजस्ता सबै विधाका जनशक्ति रहेकाले विषय शिक्षकको अभाव नरहेको बताइन्छ । २०१९ सालमा स्थापित यो विद्यालय २०५३ सालमा एसएलसीमा सामेल भएको थियो । प्रधानाध्यापक बस्नेतलाई अन्य सामुदायिक माध्यमिक विद्यालयका तृतीय श्रेणी शिक्षकसरह तलब–सुविधा उपलब्ध छ । विद्यालयमा नौ जनाको स्वीकृत दरबन्दी, तीन जना निजी स्रोत र एक जना करारमा कार्यरत छन् । शिक्षकलाई मासिक छ दिन बराबर कैदमाफी छुट हुन्छ ।

जेल बसाइमा पाएको जिम्मेवारी र अवसरले उनको मात्र होइन, परिवारको आर्थिक अवस्था पनि सहज बनेको छ । उनी भन्छन्, ‘जेलभित्र क्रूरता हुन्छ भन्ने लाग्थ्यो, तर शिक्षा–दीक्षाको अवसर रहेछ । यहाँ लोकतान्त्रिक अभ्यास छ ।’

भौतिक संरचना साँघुरो र राज्यद्वारा उपलब्ध सेवा–सुविधा कमजोर भएकाले सुधार आवश्यक रहेको औँल्याइएको छ । डिजिटल शिक्षाको पहुँच कारागारभित्र नहुँदा सुधार जरुरी भएको प्रधानाध्यापकहरू बताउँछन् ।

कारागारभित्र शिक्षा लिएका विद्यार्थी पुनः अपराधमा फर्किएको घटना न्यून रहेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय लागुऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणीका अभियोगमा पढे–लेखेका युवाको सङ्ख्या बढेकाले कलेज तहसम्मको पढाइको माग भइरहेको कारागार प्रशासनले जनाएको छ ।

देशका विभिन्न कारागारमा रहेका कैदीबन्दीमध्ये केहीले औपचारिक शिक्षा लिएका छन् भने केहीले केक बनाउने, ब्युटी पार्लर, पोते उन्ने, टोपी, गलैँचा, झोला, मुढा तथा फर्निचर बनाएर आयआर्जन गर्दै आएका छन् । केन्द्रीय कारागारका प्रवक्ता वैकुण्ठराज रेग्मीका अनुसार पुरानो कारागार भएकाले भौतिक संरचना कमजोर, अनुदान समयसापेक्ष नभएको, क्षमताभन्दा बढी कैदीबन्दी रहेको र सबै किसिमका कैदीबन्दी एकै ठाउँमा राखिनु चुनौती बनेको छ ।

मुलुकका सबै जेलबाट उपचारका लागि बिरामी ल्याइने भएकाले केन्द्रीय कारागारले करिब ९०० बिरामीको व्यवस्थापन गर्नुपरेको छ । पछिल्लो समय राज्यले कारागारलाई यातनागृह नभई सुधारस्थलका रूपमा विकास गर्ने नीति लिएको छ । सो क्रममा कैदीलाई शैक्षिक रूपमा सशक्त बनाउँदै जेलबाट बाहिर आएपछि समाजमा घुलमेल हुने वातावरण बनाउने प्रयास भइरहेको छ । बालसुधार गृहमा रहेका बालबालिकालाई पनि सरकारले पढाइको सुविधा दिँदै आएको छ ।

कारागार कार्यालय जगन्नाथदेवलअन्तर्गत केन्द्र बन्दीगृहमा एक हजार ५२६, भद्र बन्दीगृहमा एक हजार ६२ र महिला बन्दीगृहमा २९० कैदीबन्दी छन् । मुलुकका ७२ जिल्लामा रहेका ७५ कारागारमा हाल करिब २७ हजार कैदीबन्दी रहेका छन् । तीमध्ये फरारबाहेक २५ हजार ९१६ छन् । बालसुधार गृहमा १८ वर्षमाथिका ५८१ र १८ वर्षमुनिका ५७३ गरी एक हजार १५४ बालबन्दी रहेको कारागार व्यवस्था विभागले जनाएको छ । रासस

प्रकाशित: ३० पुस २०८२ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App