शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र उत्पीडनका घटनाका दोषीलाई कारबाही गर्न विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ’शून्य सहनशीलता’ को नीति अङ्गीकार गर्दै संयन्त्र सञ्चालन गरिएको जानकारी दिए। 'शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध 'शून्य सहनशीलता'को नीति अङ्गीकार गर्दछ।,' उनले भने, 'विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।'
यो संयन्त्रमा विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटना जानकारी गराउन सक्ने उनले बताए।पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले गुनासो दर्ता गर्न आग्रह गरे।
'यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दै, निर्धक्क भई दिइएको लिंक मार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।', उनले भने।
प्रकाशित: २५ चैत्र २०८२ १९:१६ बुधबार





