ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाले पालिकाभित्रका तीन जनालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्ने भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार पालिकाको छात्रवृत्ति ऐन २०७८(संशोधन सहित) तथा चालु आर्थिक वर्षमा पालिकाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटका आधारमा माध्यमिक शिक्षा परीक्षा उर्तीण गरी उच्च शिक्षा अध्ययन गर्ने तीन मेधावी विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।
छात्रवृत्ति प्राविधकि वा अप्रवाधिक गणित र विज्ञान संकायमा प्रमाणपत्र तह वा सो सरहको अध्ययनका लागि उपलब्ध गराईने पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार पालिका भित्रका सामुदायिक विद्यालयबाट एसईई उर्तीण गर्ने सर्वोत्कृष्ट मध्ये खुल्लातर्फ १, महिलातर्फ १ र विपन्न वा जेहेन्दार वा दलिततर्फबाट १ जना गरी तीनजनालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिने छ ।
छात्रवृत्तिका लागि पालिका भित्रका सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने २–२ जना तथा विपन्न वा जेहेन्दार वा दलित १ जनाले भदौ २० गते सम्ममा पालिकामा निवेदन दिनुपर्ने छ ।
निवेदनका साथ जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ थान, एसईई परीक्षा २०८१ को ग्रेडसिट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विद्यालय र आफू बसेको वडाको सिफारिस पत्र, बुवा र आमाको नागरिकताको प्रतिलिपि र एसईई परीक्षाको प्रवेशपत्रको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने पालिकाले जनाएको छ ।
पालिकाले सम्बन्धित विद्यालयबाट सबैभन्दा बढी ग्रेड ल्याउनेलाई खुल्लाको रुपमा औंल्याएको छ । तोकिएका समूहबाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले छात्रवृत्ति लिन नचाहेमा सम्बन्धित लक्षित समूहको दोस्रो क्रमका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने पालिकाले जनाएको छ ।
प्रकाशित: ११ भाद्र २०८२ १६:१९ बुधबार





