१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई खानेबस्ने व्यवस्था गर्दै सिदिङ्वा

छात्रावास नभएका र विद्यालय पुगेर घर फर्कन कठिनाई हुने विद्यार्थीहरुलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था गर्ने भएको छ ।

सिदिङ्वा गाउँपालिकाले वडा नं ६ मेहेलेको निलगिरी माध्यमिक विद्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा पालिका पदाधिकारीले यो घोषणा गरेका हुन् । पालिका अध्यक्ष मानबहादुर राईले घरबाट अध्ययनका लागि आउने–जान कठिनाई हुने विद्यार्थीका लागि वैकल्पिक व्यवस्था नभएसम्म पालिकाले खानेबस्ने व्यवस्था गरिदिने घोषणा गरे ।  

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले पालिका पदाधिकारीबाट भएको उक्त घोषणा अनुसार विद्यालय पुगेर घर फर्कन कठिनाई हुने विद्यार्थीहरुको सूची तयार पारी पालिकाका पेश गर्न निलगिरी माविका प्रधानाध्यापक मोहनचन्द्र साँवालाई आग्रह गरेका छन् ।  

सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यार्थीले प्रश्न उठाएपछि विद्यालय पुगेर घर फर्कन कठिनाई हुने विद्यार्थीहरुलाई पालिकाकोतर्फबाट खानेबस्ने व्यवस्थाको बिषयमा पालिका अध्यक्ष राईले उपाध्यक्ष कृष्णकुमारी कडरियासंग स्थलगत रुपमै सल्लाह गरेका थिए । पालिका अध्यक्ष राई र उपाध्यक्ष कडरियाकोबिचको छलफलमार्फत विद्यालय पुगेर घर फर्कन कठिनाई हुने विद्यार्थीहरुलाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था पालिकाले गर्नेगरी भएको सहमति पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले घोषणा गरेका थिए ।  

सार्वजनिक सुनुवाइका लागि पुगेको पालिकाको टोली समक्ष निलगिरीका विद्यार्थी जेनी राई र सुबास कटुवालले आफ्नो अवस्था बारे बताएका थिए । पालिका अध्यक्ष राईले पालिकाले दूरीका हिसावले टाढाबाट आउनुपर्ने र अध्ययन सकेर घर फर्कन अप्ठेरो परिरहेका विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माणको प्रकृया अघि बढाउने बताए ।

‘छात्रावास निर्माण नभईञ्जेलसम्मका लागि हामीले यस्तो समस्या रहेका विद्यार्थीलाई पालिकाले खानेबस्ने व्यवस्था गर्ने निश्कर्षमा पुगेका छौं’पालिका अध्यक्ष राईले भने । विद्युत समस्याका कारण निलगिरी माविको स्मार्ट बोर्ड सञ्चालनमा नआएको बिषयलाई समेत पालिकाले गम्भिरतापूर्वक लिएको छ ।  

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले विद्युतको समस्या समाधान नभईञ्जेलसम्मका लागि विद्यालयमा रहेको वैकल्किप उर्जा प्रणालीको मर्मत गरी तत्काल समस्या समाधान गर्ने बचन दिए । त्यसका लागि उनले वैकल्किप उर्जा प्रणालीको मर्मत स्टमेट तयार पारी पेश गर्न प्राविधिकलाई निर्देशन समेत दिए ।  

सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम मेहेलेबाट सुरु गर्दा त्यहाँका स्थानीयले केन्द्रीय विद्युत प्रसारण लाइन,खानेपानीको समस्या,विद्यालय क्षेत्र सुधार कार्यक्रम सहितका बिषयमा पालिकाको जवाफ माग गरेका छन् ।

मेहेलेका वडाध्यक्ष रत्नकुमार लिङदेनले खानेपानीको समस्या समाधानका लागि आफुले पहल लिएपनि समाधान हुन नसकेको स्वीकार्दै पाइप मर्मत र बिछ्याउने कार्यमा उपभोक्ताले समेत सहयोग गर्नुपर्ने बताए ।  

पालिका अध्यक्ष राईले मेहेलेमा पानीको समस्या समाधानका लागि पालिकाले प्रयास गरिरहेको र टोल विकास संस्था समेतको अगुवाईमा खानेपानी र सिचाँईको व्यवस्थाका लागि पालिकाले बिशेष योजना बनाउने बताए । पाइप दिएपछि त्यसको मर्मत र पाइप बिछ्याउने कार्यमा भने उपभोक्ता पनि अग्रसर हुनुपर्ने उनको राय थियो ।  

पालिका उपाध्यक्ष कडरियाले जनताको गुनासो,राय र सुझाव ग्रहणकै लागि पालिकाले सार्वजनिक सुनुवाइमार्फत नागरिकसम्म पुग्ने चेष्टा गरेको भन्दै आफुहरु जनताका गुनासो र सुझावको उचित सम्बोधन र पालना गर्न तयार रहेको बताईन् ।

प्रकाशित: १७ मंसिर २०८२ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App