२८ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति

चितवनको भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ। महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो।

छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यकाे अनुसार छनोट भएका चार सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउनेछन्। गत वर्ष दुई सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए।

यसपटक चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको आचार्यले बताए। छनोटमा परेका विद्यार्थीलाई तीन दिनभित्र महानगरको कार्यालयमा प्रमाणसहित दाबी पेस गर्न अनुरोध गरिएको उनले बताए।

“छनोटमा परेकामध्ये दुई सय १९ छात्रा छन्। छात्रवृत्तिका लागि एक हजार एक सय ६१ जनाले निवेदन दिएका थिए। महानगरले बनाएको मापदण्डभित्र परेका विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो”, आचार्यले भने।

विज्ञान विषयमा छात्रवृत्ति पाउने विद्यार्थी तीन सय ३० जना छन् भने अन्य विषयमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या एक सय आठ रहेको उनले बताए।

सामुदायिकबाट दुई सय २० र संस्थागतबाट दुई सय १८ जनाले छात्रवृत्ति पाएका छन्। विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा (४) बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो।

कार्यविधिअनुसार जेहेन्दार एक सय ६२, गरिब तथा विपन्न एक सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत नौ, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले बताए।

छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैंले बुझाउनुपर्ने हुन्छ।

प्रकाशित: ९ श्रावण २०८२ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App