राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले राजीनामा दिएको झण्डै दुई महिना पुग्नै लाग्यो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै २ कात्तिकमा राजीनामा पेश गरेका थिए ।
उनको राजीनामा ३ कात्तिकमा स्वीकृत भएको थियो । सरकारले यो अवधिसम्म नयाँ उपकुलपति नियुक्तीको प्रकृया प्रारम्भ गर्न सकेको छैन । नत प्रतिष्ठानको प्रशासनिक प्रमुखका लागि सरकारले निमित्त उपकुलपतिको जिम्मानै दिएको छ ।
नत नयाँ उपकुलपति नत निमित्त चयन । प्रतिष्ठानको प्रशासनिक प्रमुख नहुँदा प्रतिष्ठानको प्रशासनिक कामकाज दुई महिनादेखि प्रभावित बनेको छ ।
‘कर्मचारीहरुलाई तलव खुवाउने र दैनिक कामकाज बाहेकका अन्य प्रशासनिक कामहरु सबै प्रभावित भएका छन्,’ प्रतिष्ठानका एक अधिकारीले भने ‘उपकुलपति भनेको प्रतिष्ठानको प्रशासनिक प्रमुख हो, अहिले सम्म नयाँ उपकुलपति नियुक्त भैसकेको अवस्था पनि छैन, निमित्तको अधिकार पनि कसैलाई दिईएको छैन, प्रशासनिक प्रमुखको अधिकार कसैलाई पनि नहुँदा संस्थाको प्रशासनिक कामकाज त स्वतः प्रभावित हुने नै भयो नि ।’
प्रतिष्ठानका प्रशासनिक हरेक कामकाज प्रतिष्ठानको कार्यकारी परिषदको बैठकबाट निर्णय भएर मात्रै लागु हुन्छ । यो कार्यकारी परिषदको बैठक उपकुलपतिको अध्यक्षतामा बस्ने गर्छ । तर उपकुलपतिविहिन प्रतिष्ठानको यो बैठक झण्डै २ महिनादेखि बस्न सकेको छैन । यो अवधिमा प्रतिष्ठानले संस्थागत केही महत्वपूर्ण निर्णय समेत गर्न सकिरहेको छैन ।
‘प्रतिष्ठानको कार्यकारी परिषदको बैठकबाट निर्णय भएर मात्रै प्रतिष्ठानका हरेक कामकाज हुने हुन्, तर अहिले सम्म यो परिषदको बैठक नबस्दा कामकाजी प्रकृया अवरुद्ध हुने नै भयो,’ प्रतिष्ठानका ती अधिकारीले भने ‘कति सम्म भने दातृ निकायहरुबाट हुन थालेका केही सहयोग समेत कार्यकारी परिषदको बैठक बसेर निर्णय गर्ने वातावरण नरहेकाले रोकिएका छन् ।’
यसैगरि प्रतिष्ठानको बहुप्रतिक्षित योजना चार सय बेडको अस्पताल भवन निर्माणको काम समेत प्रभावित बनेको छ । यसको पहलकदमीका लागि प्रतिष्ठानको उपकुलपतिको भूमिका अपरिहार्य रहन्छ । तर उपकुलपति नभएको अवस्थामा यो अस्पताल भवन निर्माणको प्रकृयाले गति समेत लिन नसकिरहेको ती अधिकारीको भनाई छ ।
‘अस्पताल भवन निर्माणका लागि अरु पदाधिकारीले पहल गरेपनि हस्ताक्षर चल्ने भनेको उपकुलपतिकै हो,’ ती अधिकारीले भने ‘उपकुलपति नभएकै कारण अस्पताल भवन निर्माणको कामले समेत आवश्यक गति लिन नसकेको अवस्था छ ।’
यो अस्पताल भवनका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई आवश्यक स्रोतका लागि फाइल पठाएको र अर्थबाट स्रोत सुनिश्चित हुन भने बाँकी नै छ ।
‘सरकारद्धारा विनियोजित पुँजिगत बजेट उपकुलपति नभएका कारण खर्च गर्नै नसकिरहेको अवस्था छ,’ ती अधिकारीले भने ‘जब पुजिगत बजेट खर्च हुन नसक्ने अवस्था हुन्छ, तब प्रतिष्ठानको भौतिक विकासमा समेत असर पर्छ ।’
समयमै उपकुलपति चयन वा निमित्तको अधिकार नदिईए प्रतिष्ठानको बजेट फ्रिज भएर जाने अवस्था रहने समेत ती अधिकारीको भनाई छ । उपकुलपति नियुक्त नहुँदा सम्म निमित्तको अधिकार दिएर प्रतिष्ठानको गतिविधिलाई चलायनमान बनाउनु पर्नेमा संघीय सरकारबाट त्यसो हुन नसकिरहेको गुनासो । प्रतिष्ठानले निमित्त तोकेर प्रतिष्ठानको प्रशासनिक गतिविधि चलाउने वातावरण निर्माण गरिदिन स्वास्थ्य मन्त्रालय समक्ष अनुरोध गर्दै आइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले भने निमित्तको अधिकार दिने सम्बन्धमा तत्कालै निर्णय हुने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले उपकुलपति चयन नहुँदा सम्मको अवधि सम्मका लागि निमित्त तोकेर प्रतिष्ठानको कामकाज गर्ने वातावरण मन्त्रालयले निर्माण गर्ने बताए ।
‘निमित्तको अधिकार पाउँ भनेर मन्त्रालयमा निवेदन पनि आएको छ, कहिले को कता? कहिले को कता भएर निमित्त चयनमा केही समय लागेको मात्रै हो,’ डा. देवकोटाले भने ‘प्रतिष्ठानको कामकाज प्रभावित नहोओस् भनेर निमित्तको अधिकार दिने काम पनि चाँडै हुन्छ ।’
यसैगरि उनले नयाँ उपकुलपति नियुक्तीका लागि सर्च कमिटि बनेको र यसले उपकुलपति चयनको काम चाँडै अघि बढाउने समेत बताए । ‘नयाँ उपकुलपति चयनका लागि सर्च कमिटि बनिसकेको अवस्था छ,’ डा. देवकोटाले भने ‘अब यो कमिटिले पनि चाँडै काम अघि बढाउला, तर पनि नयाँ उपकुलपति चयनका लागि केहि समय त लाग्छ नै, त्यो अवधि सम्म निमित्त चयन गरेर प्रतिष्ठानको काम प्रभावित हुन नदिने वातावरण निर्माण गरिन्छ ।’
प्रकाशित: २२ मंसिर २०८२ १८:५५ सोमबार





