नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले आफ्ना अभिभावकहरूलाई आजदेखि निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
विद्यार्थीहरूको घरेलु शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाउन अभिभावकहरूलाई समेत सूचना प्रविधिसम्बन्धी ज्ञान–सीप प्रदान गर्ने उद्देश्यले कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। अभिभावकहरूलाई कम्प्युटरको प्रयोगदेखि सामाजिक सञ्जालबाट हुने गैरकानुनी गतिविधिका साथै आफ्ना छोराछोरीहरूले कम्प्युटर, मोबाइलमा के चलाउँदै छन् भन्नेसम्मको निगरानी गर्न सक्ने दक्षता प्रदान गर्न प्रशिक्षण सञ्चालन गरिने भएको छ।
अभिभावकहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, सूचना प्रविधिको आवश्यकता एवं प्रयोग, साइबर क्राइम, विभिन्न डिजिटल एप्लिकेशनको प्रयोग, स्कुल एपको सञ्चालनका साथै अनलाइनमार्फत हुन सक्ने ठगीसम्बन्धी ज्ञान–सीप प्रदान गर्ने विषयवस्तु समेटेर पाँच कार्यदिन अवधिको तालिम सञ्चालन गरिएको हो।

विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकलाई पाँच दिनसम्म दैनिक डेढ घण्टाका दरले विद्यालयका शिक्षक तथा प्रविधिसम्बन्धी ज्ञान भएका प्रहरी कर्मचारीहरूले प्रशिक्षण सञ्चालन गर्नेछन्। विद्यालय व्यवस्थापन समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले एक कार्यक्रमबीच पाँचदिने निःशुल्क कम्प्युटर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे।
विद्यालय र अभिभावकबीचको पारस्परिक सम्बन्धलाई वस्तुनिष्ठ बनाउने, सूचना प्रविधिमा अब्बल हुँदै गरेका आफ्ना सन्ततिहरूलाई थप हौसला प्रदान गर्ने एवं वर्तमान आधुनिक प्रविधिको समयलाई सहजै आत्मसात् गर्न सक्ने वातावरण तयार गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए।
विद्यार्थीलाई नियमित पठनपाठनमा सूचना प्रविधिका साथै विभिन्न डिजिटल साधन–स्रोतको प्रयोग अनिवार्यजस्तै भएको अवस्थामा अभिभावकले उक्त तथ्यलाई गलत तरिकाले बुझिदिने एवं विद्यार्थीहरूले समेत प्रविधिको दुरुपयोग गरेर पठनपाठनलाई बेवास्ता गर्ने जस्ता समस्या देखिने गरेको हुँदा अभिभावकहरूलाई सूचना प्रविधिको महत्व, आवश्यकता र सदुपयोगका बारेमा जानकारी गराउँदा विद्यार्थीहरूको घरेलु शैक्षिक वातावरण सिर्जनात्मक एवं सहज बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको समादेशक थापाले जानकारी दिए।

प्रथम चरणमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका २० जना अभिभावकलाई प्रशिक्षण सञ्चालन गरिनेछ। विद्यालयमा आफ्ना छोराछोरीले प्रयोग गर्ने कम्प्युटर ल्याबमै बसेर अभिभावकहरूले पाँच दिनसम्म सूचना प्रविधिका विभिन्न विषयहरूमा ज्ञान–सीप सिक्नेछन्। अबका पाँच दिनसम्म अभिभावकहरूले छोराछोरीलाई स्कुल छोड्न आउँदा बिहानको समयमा विद्यालय परिसरमै रहेको कम्प्युटर ल्याबमा कम्प्युटर सिकेर फर्कनेछन्।
पाँच कार्यदिन अवधिको प्रशिक्षणपछि अभिभावकहरूलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ। नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनमा कक्षा १ देखि १० सम्म गरी ७ सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २९ असार २०८३ ०८:२१ सोमबार




