कल्पलता साहित्य परिवारले कवि पार्वती पुडासैनीको ‘छेपारो समय’ कवितासङ्ग्रह र ‘कल्पलता’ द्वैमासिक पूर्णाङ्क १९ लोकार्पण गरेको छ।
जालपा पुस्तकालयमा आयोजित कल्पलता साप्ताहिक काव्य वाचन २०२औं शृङ्खलामा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अर्थविद् डा. दामोदर पुडासैनी 'किशोर' लगायत विशिष्ट अतिथिहरूले दुवै कृति लोकार्पण गरेका हुन्।
प्रमुख अतिथि डा. पुडासैनीले कार्यक्रमकाे सम्बोधन गर्दै कल्पलता साहित्य परिवारले साप्ताहिक रूपमा काव्य वाचन कार्यक्रम गरी साहित्यिक अनुष्ठान गर्दै आएको बताए।
नियमित कार्यक्रममा रचना वाचनपछि गहन विश्लेषण गर्नु नौलो र गौरवको विषय भएको उनले बताए।
साहित्यको उन्नयनमा विविध कार्यक्रमसहित राम्रो इतिहास कायम गरेको कल्पलता द्वैमासिकले समय सान्दर्भिक 'छेपारो समय' लोकार्पण गरेर साहित्यिक सक्रियताको अर्को उत्कृष्ट काम गरेको चर्चा गर्दै उनले कविलाई कृति सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि अधिवक्ता डा. प्रेमराज सिलवालले कार्यक्रममाथि विश्लेषण, वाचित रचना र विमोचित कृतिबारे सटिक समीक्षा गर्दै विश्व दृष्टिकोण बोकेको काव्य वाचन कार्यक्रममा वाचित रचना अत्यन्तै शक्तिशाली रहेको बताए।
लोकार्पित कृति 'छेपारो समय' भाषाशैली, लेखन, सम्पादन र सेटिङ सबै हिसाबले स्मार्ट रहेको टिप्पणी उनले गरे।
कल्पलता द्वैमासिकका प्रधानसम्पादक घनबहादुर थापाले लोकार्पित 'छेपारो समय' को समीक्षात्मक टिप्पणी गरेका थिए। कविता मानव जीवनका सुखदुख, जीवन दर्शन, पर्यावरण संरक्षण, सामाजिक परिवेशमा आधारित गहन विषयवस्तु समेटिएको उनले बताए।
लोकार्पित कृतिकी कवि पुडासैनीले कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै आफ्नो कृति, रचनागर्भ र लेखनबारे बताइन्।
कार्यक्रममा कल्पलता साहित्य परिवारका उपाध्यक्ष दिपक बानियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकारहरू डा. दामोदर पुडासैनी 'किशोर', देवराज सिंखडा, नरबहादुर बिसी, घनबहादुर थापा, उमेश पाण्डे, विनोद अधिकारी, सुदर्शन अधिकारी, जेपी नेपाल, दिपक बानियाँ, टंकबहादुर खत्री, पार्वती पुडासैनी, कृष्ण बानियाँ, रमिता थापा लगायतले रचना एवं लोकार्पित 'छेपारो समय' बाट कविता वाचेका थिए।
कल्पलता साहित्य परिवारका अध्यक्ष नर बहादुर बिसीले अध्यक्षताको आसनबाट कार्यक्रम समापन गर्दै पार्वती पुडासैनीको कृति नवीन अर्को सन्तानको रूपमा जन्म भएको र आगामी दिनमा पनि निरन्तर लेखिरहन आग्रह गरे।
प्रकाशित: २७ पुस २०८२ १०:३३ आइतबार





