१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक सम्पन्न

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को पूर्ण बैठकले आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ मा प्राज्ञिक परिषद्को स्थायी समितिबाट भएका विभिन्न शैक्षिक निर्णय अनुमोदन गरेको छ। 

बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, विद्यार्थीका लागि मौका परीक्षा सञ्चालनलगायतका निर्णय अनुमोदन गरेको हो। त्यस्तै, विभिन्न शैक्षिक उपाधि स्थापना, विषय थप, विद्यार्थी भर्ना तथा कोटा निर्धारणसम्बन्धी निर्णयसमेत बैठकले अनुमोदन गरेको छ। 

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम विभिन्न अध्ययन संस्थान तथा संकायका विद्यापरिषद् र परीक्षा नियन्त्रण कार्यालयअन्तर्गतको केन्द्रीय परीक्षा समितिलगायतबाट प्राप्त प्रस्तावमा प्राज्ञिक परिषद्को स्थायी समितिले निर्णय गर्ने र ती निर्णयलाई पूर्ण बैठकले अनुमोदन गर्ने व्यवस्था छ। 

बैठकलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति एवं प्राज्ञिक परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा थप मर्यादित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने गरी काम गर्नुपर्ने बताए। 

सबै विषयका पाठ्यक्रमलाई समयसापेक्ष र बजारकेन्द्रित बनाउँदै राज्यको नीतिसँग तादात्म्य मिलाएर प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । साथै भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, जनताको विश्वास कायम गर्ने तथा प्राज्ञिक उन्नयन र अन्तर्राष्ट्रियकरणमा जोड दिने बताए। 

विदेशी विद्यार्थीलाई आकर्षित गर्ने तथा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी विदेश पलायन हुने अवस्था अन्त्य गर्न विश्वविद्यालयले आवश्यक सुधार गर्नुपर्ने बताए। 

बैठकमा त्रिविका शिक्षाध्यक्ष प्राडा अञ्जना सिंहले  उच्च शिक्षाको करिब ७८ प्रतिशत जिम्मेवारी वहन गरिरहेको त्रिविलाई उत्कृष्ट प्राज्ञिक संस्थाका रूपमा विकास गर्न नवप्रवर्तन र अनुसन्धानमा जोड दिइरहेको बताइन्। 

उनले विश्वविद्यालयको समग्र विकासका लागि प्राज्ञिक व्यक्तित्वहरूको राय तथा सुझाव लिएर शैक्षिक नीति, कार्यक्रम र योजना निर्धारण गर्दै अघि बढ्ने बताइन्। 

बैठकमा त्रिविका रजिष्ट्रार डा रविन्द्र शिवाकोटीले आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ मा प्राज्ञिक परिषद् स्थायी समितिबाट पाठ्यक्रम, ट्रान्सक्रिप्टको नमुना तथा विद्यार्थीका लागि मौका परीक्षा दिन स्वीकृति दिने सम्बन्धमा भएका निर्णय अनुमोदनका लागि प्रस्तुत गरेका थिए। 

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम प्राज्ञिक परिषद्मा अध्यक्षसहित ५० जना सदस्य रहने व्यवस्था छ।   

प्रकाशित: १६ आश्विन २०८३ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App