सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षा उदयपुरमा पहिलो दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्लाका विभिन्न १५ वटा केन्द्रमा सञ्चालित पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको जिल्ला सुरक्षा निकायले जनाएको छ।
शिक्षा विकास तथा समन्वय एकाई उदयपुरका अनुसार उदययपुरबाट यस वर्षको परीक्षामा ४ हजार २१ जना सहभागी छन्। जसका लागि पहाडी भेगका विद्यालयका परीक्षार्थीलाई पनि तराई भेगकै विद्यालयमा केन्द्र तोकेर परीक्षा दिलाइँदै छ।
शिक्षा विकास तथा समन्वय एकाईकी परीक्षा शाखा प्रमुख मैनाकला लिम्बुका अनुसार यस वर्ष नियमिततर्फ ३ हजार ३ सय ६१ र ग्रेडवृद्धितर्फ ६ सय ६० विद्यार्थी परीषामा सहभागी छन्। जसका लागि लिमचुङबुङ र ताप्ली गाउँपालिकाबाहेक बाँकी ६ वटा स्थानीयतहमा परीक्षा केन्द्र तोकिएको छ।
सदरमुकाम त्रियुगा नगरपालिकामा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिवडासहति ६ वटा केन्द्र तोकिएको छ भने चौदण्डीगढी नगरमा ३, कटारी र बेलका नगरमा २–२ तथा रौतामाई र उदयपुरगढीमा १–१ केन्द्र तोकिएको छ।
त्रियुगामा मोतिगडा क्याम्पस, त्रियुगा नमूना मावि गाईघाट, अम्बेबर मावि राजाबास, जनज्योति मावि चुहाडे, राष्ट्रिय मावि बगाहा र जनता मावि देउरीमा परीक्षा केन्द्र तोकिएको छ। त्यस्तै चौदण्डीगढी नगरपालिका मुकाम बेलटारस्थित ज्योति मावि, नारद आर्द मावि बसाहा र थानपोखरी मावि ज्यामिरेझोर गरी ३ केन्द्र रहेका छन्।
कटारी नगरापलिकाका त्रिबेणी मावि कटारी तथा जनता मावि गुराँसे त्रिबेणीमा केन्द्र तोकिदा बेलका नगरका कोशी मावि रामपुर र जनता मावि गुरुङचौरीमा परीक्षा केन्द्र सञ्चालन गएिको छ। गाउँपालिकातर्फ रौतामाई ७ मुर्कुचीस्थित जनता मावि तथा उदयपुरगढीको पञ्चावती मावि उदयपुगढीलाई केन्द्र तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बिहान ८ देखि ११ बजेसम्म सञ्चालित परीक्षा १५ वटै केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताए। स्थलगत अनुगमनमा शान्तिपूर्ण पाएको र अनुगमन गर्न नभ्याएका विद्यालयहरूमा केन्द्राध्यक्षहरूले दिएको जानकारी अनुसार परीक्षा सौहार्दपूर्ण र शान्तिपूर्वक सम्पन्न भएको सिडिओ जोशीले बताए।
परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ। उदयपुरको परीक्षाको समेत नियमन गर्ने अधिकार पाएको राष्ट्रिय परीक्षा बोर्ड लाहा, सिराहा शाखाका कार्यालय प्रमुख सञ्जयकुमार पाण्डेले बताएका छन्।
प्रकाशित: १४ वैशाख २०८३ २१:०७ सोमबार





