१९ आश्विन २०८३ सोमबार
image/svg+xml
शिक्षा

‘अर्ली ग्रेड स्कुल’ संरचनालाई नयाँ शिक्षा ऐनमा समेट्न सांसद र विज्ञहरूको माग

निर्माणणाधीन विद्यालय शिक्षा ऐनमा ३ देखि ९ वर्षसम्मका बालबालिकाको स्याहार र गुणस्तरीय शिक्षाका लागि नीतिगत रूपमै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्न सांसद तथा शिक्षाविद्हरूले माग गरेका छन्।

एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा आयोजना गरेको ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ का सहभागीहरूले प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको मुख्य आधारका रूपमा स्थापित गर्न स्पष्ट नीतिगत संरचना अपरिहार्य रहेको निष्कर्ष निकालेका हुन्।

अपेनका केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचन प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू गुरु प्रसाद बराल र रन्जु दर्शनासहित शिक्षा क्षेत्रका विज्ञ तथा बाल विकास क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमले प्रारम्भिक बाल शिक्षालाई केवल विद्यालय प्रवेश पूर्वको तयारीका रूपमा मात्र नहेरी सिकाइ, व्यवहार, सामाजिक विकास र समग्र व्यक्तित्व निर्माणको जगका रूपमा विकास गरिनुपर्ने निष्कर्ष निकालेको छ।

नीति निर्माण गर्दा बालबालिकाको आवश्यकता, शिक्षकको भूमिका, सिकाइ वातावरण र व्यावहारिक पक्षलाई केन्द्रमा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

उपयुक्त लगानी, गुणस्तरीय जनशक्ति र स्पष्ट नियमनबिना अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने भएकाले यस क्षेत्रमा राज्यले स्पष्ट दायित्व लिनुपर्ने मागसमेत अघि सारिएको छ।

सञ्चारकर्मी समा थापाले सहजीकरण गरेको प्यानल छलफलमा प्रतिनिधिसभा सदस्यहरू गुरु प्रसाद बराल र रन्जु दर्शना, शैक्षिक अभियन्ता अभिषेक घिमिरे तथा अपेन अध्यक्ष कृष्णकुमार बोहरा प्यानलिस्टका रूपमा सहभागी थिए।

छलफलमा विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाको स्थान, राज्यको दायित्व, शिक्षक क्षमता विकास र गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिगत स्पष्टताबारे गहन बहस भएको थियो।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. महाश्रम शर्माले ‘इसीडी पोलिसी रिभ्यु एन्ड फ्युचर डिरेक्सन’, अपेनका संस्थापक अध्यक्ष बद्रीप्रसाद दाहालले ‘अर्ली ग्रेड एजुकेसन इकोसिस्टम’, शैक्षिक अभियन्ता अभिषेक घिमिरेले ‘अर्ली ग्रेड एजुकेसन थ्रु कम्युनिटी पर्सपेक्टिभ’ र लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले ‘स्पिरिचुअल पिस एन्ड भ्यालुज इन अर्ली ग्रेड स्कुल एजुकेसन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रस्तुत कार्यपत्रहरूमाथि इसीडी विज्ञ डा. मीनाक्षी दाहालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेकी थिइन्। प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षासम्बन्धी विषयलाई थप व्यवहारिक, स्पष्ट र बालकेन्द्रित बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गरिएको अपेनले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ १९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App