१ चैत्र २०८२ आइतबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरले भन्यो- विद्यालयमा जथाभावी विद्यार्थीको कपाल नकाट्नू

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र जथाभावी विद्यार्थीहरूको कपाल नकाट्न मातहतका सबै विद्यालयलाई निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक परिपत्र जारी गर्दै विद्यार्थीको कपाल मुण्डन गर्ने वा जथाभावी काटिदिने कार्य रोक्न सचेत गराएको हो।

केही विद्यालयहरूमा छात्रहरूको कपाल लामो भएको भन्दै विद्यालयमै जथाभावी मुण्डन गरिदिने गरिएको र त्यसबाट विद्यार्थीमा गम्भीर मनोवैज्ञानिक असर परेको भन्दै गुनासो आएपछि महानगरले यस्तो निर्देशन दिएको हो।

निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा हस्ताक्षर गरिएको पत्रमा शिक्षा नियमावली, २०५९ को कानुनी व्यवस्थालाई स्मरण गराइएको छ।

पत्रमा भनिएको छ, ‘शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने व्यवस्था रहेको छ।’

महानगरले अनुशासन वा आचारसंहिताका नाममा विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना हुने गतिविधि नगर्न र सोही अनुसार आचारसंहिता पालना गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: ३ पुस २०८२ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App