काठमाडौं महानगरपालिकाले यसवर्ष २० हजार २ सय ८२ जना विद्यार्थीलाई २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। कानुन कार्यान्वयनमा आएको तेस्रो वर्षमा यो सफलता हात लागेको महानगरको दाबी छ । पहिलो वर्ष १३ हजार र दोस्रो वर्षमा १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए। यसवर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९ सय ८० र कक्षा ११ का ३ हजार ३ सय २ जनाले छात्रवृत्ति प्राप्त गरेका छन्।
काठमाडौ महानगरभित्र रहेका करिब ४४० वटा विद्यालयले मात्रै छात्रवृत्ति वितरणको विवरण बुझाएको महानगरले जनाएको छ। महानगरभित्र रहेका अन्य विद्यालयहरूलाई छिटोभन्दा छिटो विवरण पेस गर्न समेत अनुरोध गरेको छ। यदि तोकिएको समयभित्र विवरण पेस नगरे उक्त विद्यालयलाई ‘बन्द विद्यालय’ मानी काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम दिइएको अनुमति वा स्वीकृति खारेज गर्ने गरी कारबाही गर्ने चेतावनी महानगरपालिकाको छ ।

छात्रवृत्तिको विवरण बुझाएका विद्यालयहरूको पनि अनुगमन गर्दा विवरणमा फरक पाए कानुनबमोजिम कारबाही गर्ने शिक्षा विभागले बताएको छ।
काठमाडौं महानगरभित्र कक्षा ११ को छात्रवृत्ति केन्द्रीय प्रणालीबाट वितरण गरिएको थियोे भने कक्षा १ देखि १० सम्मको छात्रवृत्ति भने ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरेको विवरण महानगरलाई प्राप्त भएको जनाएको छ।
प्रकाशित: ६ आश्विन २०८२ १८:३३ सोमबार




