४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा नेपालको शिक्षा सुधारबारे नयाँ अनुसन्धान गर्न सुझाव

उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले अब शिक्षाको सुधारका लागि नयाँ अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए ।  

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौं नेपाल रोजर एफ कोहेनले कि नोट स्पिकरको रुपमा प्रस्तुती गरे । सम्मेलनमा चारवटा किनोट स्पिच प्रस्तुत हुने कार्यक्रम छ । अब अर्को दिन संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डाक्टर प्रेम फ्याकले कि नोट स्पिकरको रुपमा प्रस्तुती गर्नेछन् ।  

सम्मेलनमा थाइल्याण्डको माइडोल विश्वविद्यालयका डेविड डी पेरोडिन, भारतीय विद्यालय उडिसा भारतका सचिव प्राध्यापक डाक्टर रमेशचन्द्र राठी, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका डाक्टर फोनिक्स केन्नी श्रेष्ठसहित नेपालमा नाम चलेका शिक्षा विज्ञले प्लेनरी स्पिकरको रुपमा प्रस्तुती गर्नेछन्  । विषय विज्ञहरुले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए  ।  

सम्मेलनको उद्घाटन सत्रमा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले अध्ययन अनुसन्धानले देखाएको बाटोमा आधारमा अघि बढेर देशलाई रुपान्तरणको दिसामा अघि बढाउनुपर्नेमा जोड दिए । सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्ण जागि रहेका बेला साँच्चै दल नेता तथा दलको रुपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताए । ‘अहिले पछिल्लो समय जहाँ पनि नेतालाई मात्र गाली गर्छन,’ उनले भने, ‘यस्ता शैक्षिक सम्मेलनले अब विषयवस्तुलाई समय अनुसार बदलेर सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।’

इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताए । उनले पनि समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुने गरि अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।  

नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सवैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ ।  

सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको र अन्य निजी कलेजलाई अभिभाकत्व निर्वाह गर्ने भूमिका खेल्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए । सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता  तथा सरोकारवालाहरू  बिच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ । सम्मेलनमा विदेशका चार देशबाट देशका वक्ता र नेपालका नाम चलेका शैक्षिक विज्ञहरुको प्रस्तुती रहेको छ । कार्यक्रममा विशेषगरी बढी मात्रमा कोशी प्रदेशकै बढी सहभागी छन्  ।  

 

प्रकाशित: ५ पुस २०८२ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App