शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय भएको भनी फैलाइएको सूचना भ्रामक भएको स्पष्ट पारेको छ। उक्त भ्रामक सूचना फैलाउनेविरुद्ध मन्त्रालयले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
बुधबार ‘अप्रिल फूल’ का दिन मन्त्रालयको लोगो दुरुपयोग गर्दै ‘अत्यन्त जरुरी सूचना’ शीर्षकमा उपसचिव सेमन्तराज कोइरालाको फर्जी हस्ताक्षरसहितको पत्र सामाजिक सञ्जालमा आएको थियो। उक्त सूचनामा विद्यार्थीमा बढ्दो मानसिक दबाब तथा शैक्षिक तनाव न्यूनीकरणका साथै शिक्षक तथा कर्मचारीको व्यक्तिगत विकासका लागि दुई दिन साप्ताहिक बिदा दिने मन्त्रीस्तरीय निर्णय भएको उल्लेख गरिएको थियो।
उक्त सूचना पूर्णतः कपोलकल्पित र भ्रामक भएको स्पष्ट पार्दै उपसचिव कोइरालाले यसविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता गराइसकेको नागरिकलाई जानकारी दिए। ‘अप्रिल फूलको बहानामा मेरो नाम र हस्ताक्षर दुरुपयोग गरी देशभरि भ्रम फैलाइएको छ,’ उनले भने, ‘यस्ता गतिविधिविरुद्ध कडा कानुनी कारबाही हुनुपर्छ।’
उनका अनुसार भ्रामक सूचना फैलिनु आम नागरिकमा अन्योल सिर्जना गर्ने कार्य हो। यसै सन्दर्भमा उनले साइबर ब्युरोमा समेत उजुरी दिने तयारी भइरहेको बताए। मन्त्रालयले पनि यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
उपसचिव कोइरालाले आफू कार्यरत शाखाबाट शैक्षिक परामर्श सेवासँग सम्बन्धित मात्र निर्णय प्रक्रिया रहने स्पष्ट पार्दै विद्यालयसम्बन्धी नीति तथा निर्णय विद्यालय महाशाखाबाट हुने बताए।
उनले कुनै पनि सूचना प्राप्त भएमा त्यसको सत्यता मन्त्रालयको आधिकारिक वेबसाइट वा सम्बन्धित निकायबाट यकिन गर्न आग्रह गरे। ‘दुई दिने विद्यालय विदाबारे कुनै सत्यता छैन, यो पूर्णतस् अनधिकृत सूचना हो,’ उनले भने।
प्रकाशित: १८ चैत्र २०८२ १८:५७ बुधबार





