नेपालको विज्ञान तथा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्रा.डा. विश्वनाथ प्रसाद (भि.पि) अग्रवालको स्मृतिमा सोमबार पाँच जना उत्कृष्ट शिक्षकहरूलाई पुरस्कृत गरिएको छ।
‘भि.पि अग्रवाल साइन्स फाउन्डेसन’ द्वारा आयोजित कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका पाँच शिक्षकलाई जनही २ लाख २२२ रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो।
पुरस्कृत हुनेहरूमा नेपाली विषयका लागि अञ्जना महर्जन, अंग्रेजीका लागि शर्मिला प्रधान, गणितका लागि राजकुमार करेल, सामाजिक विषयका लागि प्रकाश आचार्य र विज्ञान विषयका लागि मुकुन्द प्रसाद काफ्ले रहेका छन्। उनीहरूलाई फाउन्डेसनका अध्यक्ष एवं स्वर्गीय अग्रवालका छोरा दिलीप अग्रवालले पुरस्कार प्रदान गरे।
आयोजकका अनुसार देशभरका सार्वजनिक माध्यमिक विद्यालयका २०० प्रतिस्पर्धी शिक्षकहरूमध्ये चार चरणको विस्तृत छनोट प्रक्रिया पार गरी यी पाँच शिक्षकहरू छानिएका हुन्।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष बिनिलले यो पुरस्कारले विज्ञान र समाजको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
स्वर्गीय अग्रवालका छोरा दिलीप अग्रवालले बुवाको सपना अनुसार नै हरेक वर्ष उत्कृष्ट शिक्षकहरूलाई पुरस्कृत गर्ने कार्यको सुरुवात गरिएको बताए।
फाउन्डेसनकी उपाध्यक्ष एवं स्वर्गीय अग्रवालकी श्रीमती ललिता अग्रवालले भनिन्, ‘उहाँ बितेको छ वर्षपछि बुवाको सपना पूरा गर्न छोरा दिलीपले एकल खर्चमा यो पुरस्कार कार्यक्रम सुरु गरेका हुन्।’
प्रकाशित: ४ श्रावण २०८३ १५:५३ सोमबार





