साइबर ठगी, स्क्याम सेन्टर र सीमापार संगठित अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य र सूचना आदानप्रदानलाई तीव्र बनाउने निष्कर्षका साथ प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फर्किएका छन्।
थाइल्यान्डको बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई उनी बुधबार स्वदेश फर्किएका हुन्।
सम्मेलनमा विश्वव्यापी रूपमा तन्किएको संगठित अपराध र साइबर ठगीविरुद्ध बहुपक्षीय समन्वय र सूचना आदानप्रदानको अपरिहार्यताबारे गहन छलफल भएको छ। विशेष गरी सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रहरी संयन्त्रहरूबीच प्रभावकारी सहकार्य हुनुपर्नेमा जोड दिइएको छ।
अमेरिकी अनुसन्धान संस्था एफबीआई र रोयल थाई पुलिसको संयुक्त आयोजनामा साउन ४ देखि ५ गतेसम्म ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम’ सञ्चालन भएको थियो।
उक्त सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा प्रहरी उपरीक्षक धर्मराज भण्डारी साउन ३ गते थाइल्यान्डतर्फ प्रस्थान गरेका थिए।
स्वदेश फर्किएका प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी) लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।
प्रकाशित: ६ श्रावण २०८३ १५:०५ बुधबार





