शिक्षकलाई तलब खुवाउन ताकेता गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सामाजिक सञ्जालबाट आह्वान गरेका छन् ।
शनिबार उनले दुई पोस्टमार्फत शिक्षकले तलब नपाएको गुनासो नआउनेगरी व्यवस्थापन गर्न सुझाएका हुन् ।
पहिलो सूचनामा मन्त्री पुनले प्रधानाध्यापकलाई सम्बोधन गरेका थिए । उनले तलब नखुवाउने प्रधानाध्यापकलाई लेखेको सूचनामा तलब निकासा भइसकेकाले कुनै बहानामा शिक्षकले तलब नपाए कारबाहीको चेतावनी दिएका थिए ।
पुनले पहिलो सूचनामा लेखेका थिए, ‘तलब नखुवाउने प्रअहरूलाई सूचना- दशैंतिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइ सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने छ।’
त्यसको दुई घण्टापछि फेरि मन्त्री पुनले दोस्रो सूचना भन्दै स्थानीय पालिकालाई खबरदारी गरेका छन् । उनले लेखेका छन्, ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकालाई सूचना- दशैंतिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकको गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायूपूर्ण तरिकाले तलब नपाएको शिक्षकको तलब निकासा नगरेमा त्यस्ता पालिकालाई नियमअनुसार कारबाही गरिनेछ ।’
प्रकाशित: ११ आश्विन २०८२ ११:०३ शनिबार





