मन्त्री पद बहाली गरेको तेस्रो दिन असोज ८ गते बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनको कार्यकक्षमा पुग्दा उनी शैक्षिक सुधारका सुझाव संकलन गर्नमा ब्यस्त देखिए ।
कोहि विद्यालय शिक्षा सुधारको सुझाव दिइरहेका थिए त कोहि उच्च शिक्षा सुधार त कोहि प्राविधिक शिक्षाको दीर्घकालीन सुझाव दिन पुगेको भेटियो ।
विगतमा शिक्षा मन्त्रीहरुसँगको भेटघाटकोलागि सेवा ग्राहीले निकै भनसुन र स्वकीयमार्फत समय मिलाउने परम्परा मन्त्री पुनले तोडेका छन् । कार्यकक्षमा नागरिककर्मी पुग्दा मन्त्री पुन साधारण टिसर्ट र पाइन्टमा चप्पल फुकालेर निकै आरामले कुर्सीमा बसेर विज्ञबाट प्राप्त सुझावलाई खुबै धैर्यतासाथ आफैँ दस्तावेजीकरण गरिरहेका थिए ।
शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल)का अध्यक्ष लवराज ओलीको नेतृत्वको टिमले मन्त्री पुनलाई भेटेर जेन-जी आन्दोलनले बालबालिकाको सिकाईमा परेको असरलाई सम्बोधन गर्न शिक्षा क्षेत्रमा गर्नुपर्ने तत्काललिन र दीर्घकालिन गर्नु कार्ययोजना बनाएरै पेस गरे । अध्यक्ष ओलीको सुझाव स्वीकार्दै मन्त्री पुनले भने,‘तपाईको शिक्षा सुधारको सुझाव ठिक । अब यसलाई थप बुँदागत रुपमा लिएर अगाडी बढ्न सहज हुनछ ।’
मन्त्री पुनलाई भेट्न र सुझाव दिन निकै सहज वातावरण रहेकोले बुधबार सुझाव दिने सुझावकर्ताले कार्यकक्ष भरिएको थियो । साथै मन्त्री पुनलाई उनकै अविष्कार केन्द्रका सहयोगीले सघाइरहेका थिए । मन्त्री पुनको कार्यकक्षमा विनारोकटोक प्रवेशले सर्वसाधरणको बाक्लो उपस्थिति थियो । मन्त्री पुन पनि मन्त्रालयमै कोठा लिएर खाने, बस्ने ब्यवस्थाले होला उनी निकै शान्त र धैर्यतासाथ सबैको सुझाव सुन्ने र आफैँले टिपोट गरिरहेका थिए । कार्यन्वयन गर्न बैठक राख्ने र निर्णय गराउने कार्ययोजना निर्णय समेत गराउने विषयबारे उनी संवेदनशिल भएर दस्तावेजीकरण पनि गरिरहेका थिए ।
शिक्षा मन्त्री पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक संघ संस्थाहरुलाई अनुरोध समेत गरेका छन् ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) का पदाघिकारीसँगको छलफलमा बुधबार मन्त्री पुनले विद्यालय शिक्षा सुधारको जिम्मेवारी हरेक व्यक्ति तथा संस्थाले लिनु पर्ने जिकिर गरेका छन् ।
अविष्कार केन्द्रका सदस्य सीए हरिकुमार सिलवालले हातमा डायरी र कलम बोकेर केही विषयवस्तुहरु टिपोट समेत गरिरहेको भेटिए । उनले मन्त्री पुनलाई सुझाव दिन आएकामध्ये विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषय सुधारका सुझावहरु टिपोट गरिरहेका थिए ।
मन्त्री पुनलाई सुझावकर्ताले भेटेर विश्वविद्यालय अनुदान आयोगमा हाल सस्यसविच रिक्त रहेको र यसले उच्च शिक्षामा पारेको नकरात्मक असर बारे अवगत गराए ।
‘उच्च शिक्षामा अनुसन्धान र जनशक्तिको क्षमता निर्माणमा विश्वविद्यालय अनुदान आयोगको महत्वपुर्ण भुमिका हुन्छ,’ एक सुझावकर्ताले मन्त्री पुनलाई सुझाए,‘यसकारण अनुदान आयोगको सदस्यसविच तत्कालि नियुक्ति गर्नुपर्यो।’
यसको जवाफमा मन्त्री पुनले भने,‘मैले तपाईको सुझाव टिपोर्ट गरे । केही दिनमा बैठक बस्दै छ । म सदस्यसचिव तत्काल नियुक्तिको प्रक्रिया अघि बढाउँछु ।’
शिक्षक दरबन्दी मिलानमा चुनौती
बुधबार विज्ञहरुको सुझाव लिने क्रममा शिक्षा मन्त्री पुनले विद्यालयमा शिक्षक दरबन्दी मिलान निकै चुनौतीको विषय रहेको बताए । मन्त्री पुन आफैँ पनि शिक्षण पेसाबाटै आएकोले सार्वजनिक विद्यालयको शिक्षक दरबन्दी मिलान बारे राम्ररी बुझेको बताए । ‘सार्वजनिक विद्यालयको शिक्षक दरबन्दी मिलान पुरानै समस्या हो,’ मन्त्री पुनले भने,‘यसलाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकार छ । यसले विस्तारै मिलान गर्दै जाने होला ।’
तर विद्यालयको कम्प्यूटर मुसाको गुँड बनोस भनेर अर्थसँग सहकार्य गरेरै कम्प्यूटर शिक्षकको दरबन्दी कायम गरेको उनले सुनाए ।
मंगलबारको बैठकले प्रत्येक सार्वजनिक विद्यायलयमा एक एक कम्पयुटर शिक्षकको दरबन्दीको व्यवस्था गर्ने निर्णय गरेको मन्त्री पुनले एक शिक्षकसँग भनिरहेका थिए ।
‘म आफैँ पनि शिक्षक भएकोले मलाई विद्यालयको शिक्षकका बारे राम्रो थाहा छ,’ मन्त्री पुनले ती शिक्षकसँग भने,‘म आफैँ विद्यालय पुगेको छु । सरकारले र अन्य निकायले सार्वजनिक विद्यालयमा दिएको कम्प्यूटर चलाउने र सिकाउने शिक्षक नभएकाले थन्किएको छ । मुसाको गुँड बनेको छ,’ उनले भने,‘यसकारण मैले विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेरै अर्थसँग कुरा गरेर विद्यालयमा एक/ एक कम्प्यूटर शिक्षकको दरबन्दीको व्यवस्था गर्ने निर्णय गरेको हुँ । यो कार्यक्रम गराउने सबै तयारी भइसकेको छ।’
प्रकाशित: ८ आश्विन २०८२ १८:५५ बुधबार





