ललितपुरको लूभूस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा पहिले छात्र (केटा)हरू महिनावारीका विषयमा कुरा गर्न लजाउँथे। अहिले उनीहरू महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर बुझाउन सक्ने भएका छन्। विद्यालयमा ‘वि मेन क्लब’ गठन भएपछि उनीहरूको सोचाइमा परिवर्तन आएको छ।
विद्यालयका कक्षा ८ का फैजान मन्सुरीले क्लबका कारण घरभित्रको जिम्मेवारीप्रतिको आफ्नो सोच पनि परिवर्तन भएको बताए। 'पहिले घरको काम छोरीले मात्रै गर्नपर्छ भन्ने लाग्थ्यो। अहिले छोराछोरी दुवैले बराबरी काम गर्नुपर्छ भन्ने लाग्छ', मन्सुरीले भने।
अर्का विद्यार्थी सुमित विकले महिनावारीलाई लिएर साथीलाई जिस्काउनु गलत रहेछ भन्ने बुझेर अहिले अरूलाई पनि सचेत गराउन थालेको बताउँछन्। विद्यार्थी रेहान लामाले आवश्यक परेमा आमाका लागि ‘प्याड’ किनेर ल्याउन अप्ठ्यारो नहुने बताइ। विद्यार्थी प्रिन्सकुमार शाहले ‘यस्ता केटाहरू लजाउनुपर्ने’ अवस्थालाई क्लबले अन्त्य गराएको प्रतिक्रिया दिए।
विद्यालयका छात्रा क्रिन्सा रावल र इन्दिरा तामाङका अनुसार क्लबमा सहभागी केटा अहिले केटीहरूप्रति सम्मान व्यक्त गर्ने र सहयोगी बनेका छन्।
विद्यालयका प्रधानाध्यापक प्रमिला श्रेष्ठले अहिले महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने विषय व्यवहारमै देखिन थालेको बताइन्। विद्यालयका ‘जेण्डर फोकल’ शिक्षक शङ्करप्रसाद घिमिरेका अनुसार विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक जिम्मेवारीको भावना पनि बढेको देखिएको छ।
ललितपुरका तीन विद्यालयमा सञ्चालन भइरहेको ‘वि मेन क्लब’ ले भने विद्यार्थीको सोच, व्यवहार र सामाजिक जिम्मेवारीमै परिवर्तन ल्याउन थालेको अनुभव विद्यालय प्रशासन, शिक्षक र विद्यार्थी खुलेर बताउन थालेका छन्।
लैङ्गिक समानता, सम्मानजनक व्यवहार, भावनाको अभिव्यक्ति, महिनावारी, साइबर सुरक्षा, घरायसी जिम्मेवारीको बाँडफाँट, विविध लैङ्गिक तथा यौनिक पहिचान र हिंसाविरुद्धको सचेतनाजस्ता विषयलाई व्यावहारिक अभ्यासमार्फत सिकाइने भएकाले यसको प्रभाव कक्षाकोठाभन्दा बाहिर घरपरिवार र समुदायसम्म देखिन थालेको उनीहरूको भनाइ छ।
श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरा श्रेष्ठका अनुसार सुरुमा कार्यक्रम केही फरक र नयाँ लागे पनि अहिले यसको सकारात्मक प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ। उनले प्रारम्भिक चरणमा व्यवहारगत समस्या भएका तथा अतिरिक्त सहयोग आवश्यकपर्ने विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको तर क्लबमा सहभागी विद्यार्थी पढाइमा सक्रिय हुने, अनुशासित बन्ने र साथीहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने भएका बताइन्।
सो विद्यालयका कक्षा ८ का जुनिस थामीका अनुसार क्लबले आफूलाई आत्मविश्वासी बनाएको छ। कक्षा ९ का लवराज पाण्डेले क्लबमा जोडिएपछि त्यो सोच परिवर्तन भएको बताए।
कक्षा ९ की छात्रा शिखा तामाङले क्लबमा सहभागी साथीहरूमा आएको परिवर्तन आफूले प्रत्यक्ष देखेको बताइन्। तामाङले भनिन्, 'पहिलेभन्दा अहिले केटाहरू धेरै सहयोगी भएका छन्। सबैलाई समान व्यवहार गर्छन्। महिनावारीलाई लिएर जिस्क्याउने बानी हटेको छ। क्लबमा सिकेको कुरा अरू साथीलाई पनि सिकाउने गरेका छन्।'
त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालका अनुसार क्लबले विद्यार्थीहरूमा सिकाइप्रतिको उत्साह र आत्मविश्वास उल्लेखनीय रूपमा बढाएको छ।
उनका अनुसार किताबमा पढाइने विषयभन्दा फरक रूपमा विद्यार्थीहरूले व्यवहारमै अभ्यास गरेर सिकिरहेका छन्, जसको प्रभाव उनीहरूको दैनिक जीवनमा देखिन थालेको छ।
सो विद्यालयका कक्षा ७ का रामबहादुर अधिकारीले क्लबले आफ्नो आत्मविश्वास बढाएको अनुभव सुनाए।
प्रकाशित: १९ असार २०८३ १२:४९ शुक्रबार





