कालीकोटको रास्कोट नगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। विपद् जुनसुकै समयमा आउने भएकाले विपद्बाट जोगिन पूर्वतयारीस्वरूप विभिन्न कार्यक्रम गरिएको हो। विद्यालयमा आगलागी, बाढीपहिरो, सर्पको टोकाइ, चोटपटकबाट बच्ने तथा भूकम्प, ग्यास आगलागीलगायतका विभिन्न विपद्सम्बन्धी अभ्यास गरिएको हो।
महिनावारी स्वास्थ्य तथा खानेपानी सरसफाइ स्वच्छता सुधार परियोजनामार्फत रास्कोट नगरपालिकाका १० वटा विद्यालय र १० वटा समुदायमा जोखिम व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरेको हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए। उनले जुनसुकै समयमा विपद् तथा जोखिमका घटना हुन सक्ने हुँदा विद्यालयका शिक्षक, विद्यार्थीलाई जोखिम तथा विपद्सम्बन्धी सचेतना कार्यक्रममार्फत सबैलाई सचेत बनाएको बताए।
विद्यालयमा बेहोस हुने, घाँटी लाग्ने, उच्च रक्तस्राव, सर्पको टोकाइबाट बच्ने जस्ता विषयमा विभिन्न जोखिमका बेला अपनाउनुपर्ने विधिका बारेमा प्रस्तुतिसमेत गरिएको थियो। विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमले धेरै राहत पुगेको पिंगलादेवी आधारभूत विद्यालयका प्रअ वेदप्रसाद बरालले बताए। उनले भने, ‘अब हामी पनि विद्यालयमा यस्ता अभ्यास गर्न सक्छौं।’
पिंगलादेवी आधारभूत विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी यस्ता खाले कार्यक्रमले किशोर–किशोरी र शिक्षकलाई विपद्बाट बच्न राहत पुगेको हुरेन्डेक नेपालका फिल्ड सुपरभाइजर अमनाकुमारी संज्यालले बताइन्। उनले भनिन्, ‘रास्कोटका १० विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना अभ्यास र १० वटा समुदायमा विभिन्न महिनावारी स्वच्छतासम्बन्धी सचेतना गरिसकेको बताइन्।’
नेपाल रेडक्रस सोसाइटी रास्कोटका संयोजक पुष्पराज बरालले विपद् जोखिम न्यूनीकरण तथा जोखिममा अपनाउनुपर्ने विधिका बारेमा विद्यालयमा पुगेर शिक्षक र विद्यार्थीलाई स्वयम् अभ्यास गर्न लगाएको बताए।
पिंगलादेवी आधारभूत विद्यालयमा अध्यनरत छात्रा एलिना न्यौपानेले सर्पको टोकाइ, भूकम्प, आगलागी, चोटपटक जस्ता विपद्बाट बच्न विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमले धेरै कुरा सिकाएको बताइन्। उनले भनिन्, ‘हामीलाई विद्यालय र समाजमा हुने विपद् जोखिम न्यूनीकरणबाट बच्न अपनाउनुपर्ने यस्ता विधिले राहत पुगेको छ। अब हामीले घरमा पनि यस्ता खालका अभ्यास सिकाउँछौं।’
विद्यालयमा पहिला खानेपानी अभाव थियो, हुरेन्डेक नेपालले खानेपानी धार निर्माण गरेको छ। विद्यालयमा अतिरिक्त क्रियाकलाप, महिनावारी स्वच्छता लगायतका विषयमा छलफल तथा सचेतनाका कार्यक्रम हुने गरेको उनले बताइन्।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले कालीकोटको रास्कोट नगरपालिकामा महिनावारी स्वास्थ्य तथा खोनेपानी सरसफाइ स्वच्छता सुधार परियोजनामार्फत खानेपानी धारा निर्माण, महिनावारी आराम कक्षलगायतका काम गरिरहेको छ।
प्रकाशित: ८ आश्विन २०८२ ११:११ बुधबार





