१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति देवेन्द्र पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिको बैठक बसी कार्यविधि बनाएर त्रिविको ६३ वर्षको इतिहासमा पहिलोपटक सेवा आयोगको अध्यक्षका लागि खुला आवेदन माग गर्ने कार्यविधि स्वीकृत गरिएको छ। यही आधारमा आवेदन माग गरिएको हो।

शिक्षामन्त्रीका निजी सचिव कुलप्रसाद खनालका अनुसार हालसम्म ३८ प्राध्यापकले स्पष्ट कार्ययोजनासहित आवेदन बुझाएका छन्। दुई साताअघि मात्र आयोगको अध्यक्ष पदको तीनबर्से कार्यअवधि सकिएको हो। त्यसलगत्तै छनोट समितिले सार्वजनिक सूचना प्रकाशन गरी मापदण्डसहितका आधारमा आवेदन माग गरेको निजी सचिव खनालले जनाए। उनले समितिले एक साताभित्र योग्य उम्मेदवारको सूची कुलपतिलाई बुझाउने पनि जनाए।

त्रिवि ऐनअनुसार आयोगको अध्यक्ष नियुक्ति गर्न शिक्षामन्त्री एवं सहकुलपतिको अध्यक्षतामा तीन सदस्यीय छनोट समिति विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्रीले गठन गरेका हुन्। समीतिमा अन्य दुई सदस्य योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्ले र अर्का सदस्य सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्बराज जोशी छन्।

‘मन्दिर, मस्जिद, मदरसा र शिक्षालयहरू पवित्र स्थल हुन्। यसमा तालाबन्दी र राजनीति गर्न हुँदैन भन्ने मान्यता मन्त्रीको हो। राम्रो कामको प्रयास र सुधार आफैंबाट गर्नुपर्ने उहाँको धारणा पनि हो’, निजी सचिव खनालले नागरिकसँग भने, ‘अध्यक्ष पदका लागि खुला आवेदन माग गर्दा सचिवालयमा आवेदन बुझाउन आउने प्राध्यापक निकै उत्साहित हुनुहुन्छ। यो प्रयासले राजनीतिक हस्तक्षेप कम गरी विश्वविद्यालयलाई निर्बाध रूपमा चलाउन सक्ने वातावरण तयार गर्छ’, उनले थपे, ‘आयोग विश्वविद्यालयको मुटु हो। यसमा सही र योग्य व्यक्ति नियुक्त हुनुपर्छ; जुन खुला प्रतिस्पर्धाबाटै सम्भव हुन्छ।’

त्रिवि स्थापनाको ६३ वर्षको इतिहास हेर्दा विगतमा समितिले दलको भागबन्डामा आफूनिकट व्यक्तिको नाम अध्यक्ष पदका लागि कुलपतिसमक्ष सिफारिस गर्दै आएको थियो। दलकै भएकाले कुलपति पनि आफूनिकट व्यक्तिलाई टपक्क टिपेर नियुक्ति दिने गर्दथे। यसले आयोगको कामकारबाही पनि निकै विकृत बन्दै गयो।

राजनीतिक नियुक्ति हुन र नुनको सोझो गर्न दलको निर्देशनअनुसारै आयोगका पदाधिकारी जस्तोसुकै गलत काम गर्न पनि तयार हुने विकृति बढ्दै गयो। हाल विश्वविद्यालयको समग्र शैक्षिक, प्राज्ञिकदेखि आर्थिक, प्रशासनिक कामकारबाही नै धराशाही बन्यो। जसले गर्दा त्रिवि ठप्प नै छ।

गलत कामकारबाहीकै कारण आयोगको सर्वत्र आलोचना हुँदै आएको छ। यसैकारण यसपटक रिक्त अध्यक्ष पदाका लागि शिक्षामन्त्रीको संयोजकत्वमा गठित छनोट समितिले कार्यविधि बनाएर समिति बैठकले मापदण्ड र नम्बरसमेत तोकेर खुला प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय लिएको उनले जनाए।

सय पूर्णांकको मापदण्डमा शैक्षिक योग्यता र पदीय दायित्व, प्रशासनिक दक्षता र कार्य अनुभव, तालिम, कृति, लेख–रचना प्रकाशन, प्रशंसा, पदक र पुरस्कार आधार तोकिएका छन्। यसैगरी अध्यक्ष हुन योग्य उम्मेदवार नेपाली नागरिक हुनुपर्ने र मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह र सोभन्दा माथिल्लो तहको उपाधि उत्तीर्ण गरेको हुनुपर्छ।

त्रिविका प्रा.डा. टंकप्रसाद धमलाले समितिले खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेर कम्तीमा योग्य उम्मेदवार प्राध्यापकहरूलाई प्रतिस्पर्धामा भाग लिने मौका दिएकोमा खुसी व्यक्त गरे। साथै उनले समितिले आवेदन माग गरेअनुसार स्वच्छ र प्रतिस्पर्धाबाटै योग्य उम्मेदवार छनोट गर्नुपर्ने आग्रह पनि गरे।

‘विश्वविद्यालयभित्र दलगत’ भागबन्डामा हुने पदाधिकारी नियुक्तिकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको छ’, प्रा.डा. धमलाले नागरिकसँग भने, ‘छनोट समितिले त्रिवि स्थापनाको ६३ वर्षको इतिहासमा पहिलोपटक खुला आवेदन माग गरेको छ। यसले अब विश्वविद्यालयमा सही र योग्य व्यक्ति छनोट हुने र विश्वविद्यालय राजनीतिमुक्त हुने संकेत दिएको छ; यो प्रशंसनीय कार्य पनि हो।’ उनले आग्रह गरे, ‘अब छनोट समितिले कुलपतिसमक्ष नाम सिफारिस गर्दा आवेदन परेकामध्ये पनि योग्य, सक्षम र मापदण्ड पुगेका व्यक्तिबाटै अध्यक्ष नियुक्ति गरे कम्तीमा सेवा आयोगले सक्षम नेतृत्व पाउने छ।’

प्रकाशित: ८ आश्विन २०७९ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App