१६ चैत्र २०८० शुक्रबार
शिक्षा

पुरानै लयमा फर्कदै दुर्गमका विद्यालय

तिलागुफा नगरपालिकाको महादेव माध्यमिक विद्यालय रुडुका विद्यार्थी लाइनमा।

झण्डै अढाइ वर्ष कोरोना संक्रमणका कारणले बन्द भएका सामुदायिक विद्यालय बल्लबल्ल पुरानै लयमा फर्किन सुरु गरेका छन्। २०७६ साल चैत्र ७ गते सरकारले लकडाउन गर्दै एसइई परीक्षा समेत स्थगित भएसँगै विद्यालय लामो समय बन्द भए।

आकुलझुक्कल विद्यालय खुले तर विद्यार्थी नियमित भएन। गत वर्षको फागुन यता विद्यालय पूर्णरुपमा खुले चैतमा वार्षिक परीक्षा लगतै वैशाखमा नयाँ भर्ना र सँगैको स्थानीय चुनावले विद्यालय खुलेपनि सहभागीता न्यून हुँदै आएको थियो।

असारमा वर्षे बिदा भएपछि विद्यार्थी नियमित हुने कुरै भएन। तिलागुफा नगरपालिका–१० मा रहेको महादेव माध्यमिक विद्यालय रुडुका शिक्षक टोपहादुर शाहीले शैक्षिक सत्र २०७७/०७८ साल पुरै विद्यालय बन्द हुँदा विद्यार्थीले पनि आफ्नो नियमित अभ्यास भुलिसकेको बताए। पुरानै अवस्थामा विद्यालयलाई फर्काउन पाँच महिना लागेको उनले सुनाए।

‘गत फागुनमा विद्यालय नियमित भए। त्यस यता पाँच महिनासम्म लगातार विद्यालय सञ्चालन गरेपछि बल्ल भर्ना भएका विद्यार्थी संख्याको ८० देखि ९० प्रतिसत सहभागी हुन थालेका छन्।' शिक्षक शाहीले भने ‘आफ्नो हिउँदमा विदा हुने भएकाले वर्षे विदा हुँदैन। त्यसैले पनि विद्यालय लगातार सञ्चालन भएपनि साउनको अन्तिम सातादेखि कोरोना पूर्वको जस्तै विद्यालयमा पठनपाठन र विद्यार्थीको सहभागीता पनि हुन थालेको छ। कोरोनाका कारणले विद्यार्थीले दैनिक नृत्यकर्मदेखि शैक्षिक अभ्यास पनि बिर्सेका थिए।’

जिल्लाभरिका ३९५ विद्यालयमा अहिले कक्षा सञ्चालन भइरहेका छन्। कोरोनाले सबै भन्दा बढी असर विद्यालयलाई पारेको थियो। स–साना बालबालिका सबै भन्दा बढी जोखिममा पर्ने भन्दै स्थानीय सरकारले पनि विद्यालय खोलाउन मानेन। दुई वर्ष भन्दा बढी समय विद्यालय बन्द हुँदा शैक्षिक वृद्धि कक्षागत प्रतिफलमा समेत असर परेको विद्यालयले जनाएको छ।

जनजिवन माध्यमिक विद्यालय ताडीका प्रअ तेजबहादुर शाहीले विषयगत त छँदैछ, कक्षागत सिकाई उपलब्धीमा समेत नराम्रो असर परेका कारणले अहिले त्यसलाई भेटाउन समस्या भइरहेको बताए। आफूले विद्यालयमा केही समय बढी दिन र थप कक्षा सञ्चालन गर्नका लागि शिक्षकलाई भनेको तर भने अनुसारको व्यवस्थापन गर्न नसकिएको सुनाए।

स्थानीय सरकारले पनि खासै अवरुद्ध शैक्षिक सत्रका बारेमा योजना नबनाएकाले दुई वर्षको शैक्षिक गुणस्तर घाटालाई पूरा गर्न मुस्किल भएको प्रअ शाहीको भनाइ छ। अब बल्ल विद्यालय पुरानै सेटमा सञ्चालन हुन थालेका छन्। यो वर्षको वार्षिक परीक्षामा प्राप्त हुने अंक राम्रो होला भन्ने आस गरेका छौं। अरु कुनै पनि महामारी आएको खण्डमा क्रमस शैक्षिक सुधार हुँदै जानेमा शैक्षिक अभियान्ता पनि विश्वस्त छन्।

प्रकाशित: ४ आश्विन २०७९ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App