२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

उप्रेतीको नेतृत्वमा काठमाडौं इस्टु गठन

संस्थागत विद्यालय शिक्षक युनियन ‘इस्टु’ काठमाडौंको अध्यक्षमा भूपाल उप्रेती निर्वाचित भएका छन्। शनिबार मिड भ्याली कलेज, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न काठमाडौं जिल्ला इस्टुको पाँचौं अधिवेशनले उप्रेतीको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको हो।  

इस्टु राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्य तथा प्रमुख संरक्षक मुकुन्द गौतम, वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग भाग प्रमुख देवीदत्त पौडेल, उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज नारायण पौडेल, उपाध्यक्ष सुधिर झा, सचिव राम थुलुङ, सचिव कुस्मिता तिवारीलगायत राष्ट्रिय समिति सदस्यहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा ओमनाथ कडरिया,  महिला उपाध्यक्षमा रेनुका श्रेष्ठ, सचिवमा कृष्णप्रसाद गौतम, सहसचिवमा हेमन्त उपाध्याय र कोषाध्यक्षमा सरोज श्रेष्ठ चयन गरेको छ।  

कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै वक्ताहरूले संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको दयनीय अवस्था र संस्थापकहरूले गर्दै आएको मनोमानीविरुद्ध आवाज उठाएका थिए। यसै क्रममा राष्ट्रिय समिति अध्यक्ष तथा प्रमुख अतिथि थापाले युनियनको इतिहास पल्टाउँदै संगठनको आवश्यकता हिजो, आज र भोलि पनि उत्तिकै रहने भन्दै सबैलाई एक जुट हुन आग्रह गरे।

‘सबैले एकजुट भएर समय निकाली युनियनको सबलीकरणमा सक्रिय र सचेत भएर लाग्नुपर्छ,’ उनले भने, ‘आफ्नो अधिकार एक जुट भएर, लडेर मात्र पाइन्छ, सजिलै कसैले पनि आफैं दिने कुरा होइन, त्यसैले युनियनको महत्व बुझेर आबद्ध हुन र आफ्नो हक र अधिकारबारे एकाइ कमिटी गठन गरी आवाज उठाउनुहोस्।’ उनले शिक्षक तथा कर्मचारीहरुले युनियनको महत्वलाई नबुझेको र पेसागत हकअधिकारबारे कुण्ठित भएर बसेकामा दुःख लागेको बताए।  

त्यस्तै, प्रमुख संरक्षक गौतमले बढीभन्दा शिक्षक तथा कर्मचारी साथीहरूलाई आबद्ध गराई संगठन विस्तारमा सक्रिय हुनुपर्ने कुरामा जोड दिए। राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख देवीदत्त पौडेलले केन्द्रदेखि जिल्ला र एकाइसम्म नै ठोस योजनासहित संगठन विस्तारमा लाग्नुपर्ने बताए।  

राष्ट्रिय समितिका उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज नारायण पौडेलले प्राज्ञिक क्षेत्र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले हालसम्म पनि नियुक्ति पत्र लगायत धेरैभन्दा धेरै सेवासुविधाबाट वञ्चित हुनुपरेको भन्दै गुनासो पोखे। साथै, उनले संस्थागत विद्यालयका लगानीकर्ताहरूले राज्य व्यवस्थालाई नै नटेर्ने र शिक्षा नियमावलीमा उल्लिखित सेवासर्तलाई पालना नगर्ने प्रवृत्ति रहेको बताए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भूपाल उप्रेतीले संगठन विस्तार, आर्थिक योजना र युनियनप्रतिको आकर्षण बढाउने कार्यक्रमसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २६ भाद्र २०७९ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App