१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ। कहिले विद्यार्थी संगठन त कहिले शिक्षक तथा कर्मचारी संगठनहरू विभिन्न दलका आडमा त्रिविमा तालाबन्दी गर्ने, विद्यार्थीले शिक्षक कुट्ने, विभिन्न विद्यार्थी संगठनहरू नै आपसमा भिडेर त्रिविलाई रणभूमि बनाउने, कहिले विद्यार्थी संगठनले कार्यकारी परिषद्को निर्णयको माइन्युटसमेत लुटेर विश्वविद्यालयमा गुन्डागर्दी गर्ने क्रम बढ्दै गएको छ। यसबाट विश्वविद्यालयलाई प्राज्ञिक थलोभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलोका रूपमा विकसित भइ विकृत बन्दै गइरहेको छ।

शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कार्यकारी परिषदको निर्णयको माइन्युट लुटेको छ। नेविसंघले विश्वविद्यालयमा विभिन्न निकायमा लगाएको तालाबन्दीका कारण विश्वविद्यालयका सबै कामकारबाही प्रभावित छ। यति मात्र होइन, आइतबार विश्वविद्यालयको उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयमा सत्तारूढ नेपाली कांग्रेसनिकट नेविसंघको अराजकता बढ्दै गएको भन्दै विश्वविद्यालयमा शन्तिसुरक्षाको माग गर्न आयोजना गरेको पत्रकार सम्मेलनसमेत बिथोलेको छ। नेविसंघ र प्रमुख प्रतिपक्षी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववीयुबीच ढुंगा हानाहान भयो। दुवै विद्यार्थी संगठनबीचको झडप साम्य पार्न प्रहरी परिचालन गरियो। यसले विश्वविद्यालय प्राज्ञिक भन्दा पनि युद्धमैदान जस्तो देखियो। उपकुलपति बास्कोटा एमालेनिकट मानिन्छन्। यसरी विश्वविद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थी सबै कुनै न कुनै दलका भ्रातृ संगठनमा आबद्धता भएकै कारण विश्वविद्यालयमा अराजकता निम्तिँदै गएको छ। आखिर विश्वविद्यालयमा दलको आडमा गुन्डागर्दी कहिलेसम्म भन्ने सवाल सरोकारवालाहरूले राख्न थालेका छन्।

त्रिवि केन्द्रीय कार्यालयमा नेविसंघआबद्ध केही विद्यार्थीले विश्वविद्यालयका पदाधिकारी र विभिन्न निकायमा गरेको तलाबन्दी, घेराउ, पदाधिकारी र कर्मचारीलाई धमक्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार आक्रमण हुने र त्रिविमा बसेर काम गर्न असुरक्षित भएको भन्दै विश्वविद्यालयका पदाधिकारीहरू त्रिवि कार्यकारि परिषद्को बैठक त्रिविबाहिर बस्ने तयारी गरेका थिए। त्रिवि कार्यकारी परिषद्को बैठक शुक्रबार साढे ४ बजे कान्तिपथ जमलस्थित होटेल यल्लो प्यागोडामा बस्न त्रिविका कार्यकारी परिषदका सदस्यहरू होटेल प्यागोडामा उपस्थित भई छलफल गरिरहेका थिए। छलफलमा नेविसंघले गर्दै आएको तालाबन्दी, शिक्षकमाथिको हातपात तथा कुटपिट, पदाधिकारी तथा कर्मचारी धमक्याउने, घेराउ, त्रिविका कामकारबाही गर्दा जबरजस्ती पदाधिकारीको कार्यकक्षमा प्रवेश गरी अवरोध सिर्जना गर्ने तोडफोड गर्नेजस्ता त्रिविमा बढ्दै गएको असुरक्षाबारे छलफल भइरहेको थियो।  

१०–१५ जनाको समूहमा आएका विद्यार्थीले कार्यकारी परिषदका विगतका निर्णयसमेतको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजात र फाइल लुटेर लगेको त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले नागरिकसँग बताए। ‘नेविसंघ गलत मनशायले विश्वविद्यालय सिध्याउन खुलेर लागेको छ,’ उनले भने, ‘राजनीतिक दलका आडमा विश्वविद्यालयमा गुन्डागर्दी हुन थालेको छ। दलले भ्रातृ संगठनलाई नियन्त्रणमा नराख्दा विश्वविद्यालय ध्वस्त बनाउने कार्य हुँदैछ।’ उनले प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही भइसकेको बताए। ‘मानविकीमा प्रश्न दोहर्‍याउनेलाई कारबाही भइसकेको छ,’ शिक्षाध्यक्ष भुसालले भने, ‘मानविकीतर्फको छानबिन आयोगले दिएको प्रतिवेदन पनि त्रिविलाई प्राप्त भइसकेको छ। व्यवस्थापन संकायको प्रतिवेदन आउन बाँकी छ। दुवै प्रतिवेदन एकैपटक सर्वाजनिक हुन्छ।’

उनका अनुसार यसअघि पनि नेविसंघले त्रिविले वरिष्ठताका आधारमा समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुख नियुक्ति गर्दा समेत त्यसको विरोधमा दुई महिनाभन्दा बढी तालाबन्दी गरेको र सोही ताला खोल्नुपर्छ भनेका आधारमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गरेको र कुटपिटमा संलग्नहरू उच्च अदालतबाट धरौटीमा छुटेका छन्। यति मात्र होइन, अझै ३ सयभन्दा बढी दिनदेखि तालाबन्दी नै छ। यस्तो अवस्थामा त्रिविमा बसेर काम गर्न त्रिविका शिक्षक, कर्मचारी र पदाधिकारीहरूको ज्यानै जोखिममा रहेको भन्दै सरकारसँग सुरक्षाको माग गरिएका छन्। साथै आइतबार त्रिवि पदाधिकारीले कार्यकारी परिषद्को दस्तावेज लुट्नेहरूविरुद्ध प्रहरीमा किटानी जाहेरीसमेत दिएको शिक्षाध्यक्ष भुसालले बताए।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालयका पदाधिकारीहरूले विश्वविद्यालयको परीक्षाको गोपनीयता भंग गर्ने कार्यमा संलग्नलाई अझै कारबाही नगरेको र प्रश्नपत्र दोहोरिएकोबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नगरेको विरुद्धमा कार्यकारी परिषद्को माइन्युट कब्जामा लिएर सहकुलपति एवं शिक्षामन्त्रीलाई बुझाएको बताए। ‘नेविसंघले शिक्षक कर्मचारी तथा कार्यकारी परिषद्का सदस्यहरूलाई कुनै क्षति पुर्‍याएका छैनौं। पदाधिकारीहरू विश्वविद्यालयमा ठुलाठुला हल हुँदाहँुदै तारे होटेलमा बैठक बस्नु गलत हो,’ अध्यक्ष शेर्पाले भने, ‘यो गलत प्रवृत्ति रोक्न नेविसंघले माइन्युट कब्जा गरेर विश्वविद्यालयको सहकुलपति एवं शिक्षा मन्त्रीलाई बुझाएका हौं।’ आइतबार नेविसंघले विद्यालयदेखि विश्वविद्यालय शिक्षा सुधारको माग राखेर २७ बुँदे ज्ञापनपत्र शिक्षामन्त्रीलाई बुझाएको छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले दलको नेतृत्वले विद्यार्थी, शिक्षक, कार्यकर्तालाई नियममा बस्न नसिकाएकै कारण विश्वविद्यालयमा विद्यार्थी, शिक्षक कर्मचारी सबैले बदमासी गर्न मौका पाएका हुन्। ‘त्रिवि उपकुलपतिले आन्दोलनको विकल्प खोज्नुपर्छ। अनलाइन काम गर्ने र पढ्नेपढाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘दलको सूचीबाटै विद्यार्थी संगठन, शिक्षक संगठन तथा कर्मचारी संगठनलाई हटाउनुपर्छ अनि मात्र त्रिविको अवस्थामा सुधार हुन्छ।’

प्रकाशित: १३ भाद्र २०७९ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App