१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी

वीरगन्ज आदर्श नगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एउटा समूहले आगजनी गरेको छ। उक्त क्याम्पसका विद्यार्थीको परीक्षा केन्द्र अन्यत्र सारिएको विषयमा विरोध जनाउँदै उनीहरूले शुक्रबार आगजनी गरेका हुन्।  

उनीहरू क्याम्पसप्रमुखको कार्यकक्षमा ढोका फुटाएर प्रवेश गरेका थिए। त्यहाँ भएका कुर्सी, टेबुल, सोफालगायत फर्निचर बाहिर झिकेर तोडफोड गरेपछि आगो लगाइ दिएका थिए। ‘हामी विद्यार्थीसँग संवादमै थियौं। परीक्षाकेन्द्र क्याम्पसबाहिर हुनसक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णयबारे जानकारी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक्कासि तोडफोड र आगजनीको घटना भयो। यो दुर्भाग्यपूर्ण छ।’ विद्यार्थीले ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही क्याम्पसमा नभए पनि वीरगन्जकै अर्को क्याम्पसमा हुनुपर्ने माग राखेका छन्।  

क्याम्पसप्रमुख उमेश चौरसियाले घटनापछि शनिबार दिउँसो ३ बजे बैठक बोलाएको क्याम्पसका प्राध्यापक रोशन लामिछानेले बताए। क्याम्पस प्रमुख चौरसियाले परीक्षा सेन्टर सारिएको निहुँमा क्याम्पसमा तोडफोड र आगजनी निन्दनीय घटना भएको प्रतिक्रिया दिएका छन्।  

ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको पूरक परीक्षाको केन्द्र सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा तोकिएको छ। त्यस्तै चार वर्षे बिएडको परीक्षा बाराको कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएको छ। बिबिएसका विद्यार्थीका लागि कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पस र वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसमा तोकिएको छ। परीक्षा केन्द्र तोकिएपछि विद्यार्थीले आक्रोश पोख्दै तोडफोड र आगजनी गरेका हुन्।  

फर्निचरमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए। उनका अनुसार प्रहरी पुग्दा आगो लगाउनेहरू भागिसकेका र केहीले परीक्षा सेन्टर सारिएको भन्दै त्यसविरुद्ध नाराबाजजी गरिरहेका थिए। परीक्षा केन्द्र क्याम्पस वा क्याम्पस प्रमुखले नभई त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने भएकाले विद्यार्थीले शिक्षण संस्थामा क्षति पुर्‍याउनु दुर्भाग्य भएको क्याम्पसका प्राध्यापकको प्रतिक्रिया छ।  

प्रकाशित: १ श्रावण २०७९ ०४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App