१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
शिक्षा

माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थीको टिकाउ दर घट्दै

कक्षा १२ सम्म आइपुग्दा ६६.९ प्रतिशत विद्यार्थीले बिचैमा पढाइ छाड्ने गरेका छन्।

विद्यालय तहमा जति जति माथिल्ला कक्षा चढ्दै जान्छ विद्यालयका कक्षाहरुमा विद्यार्थीको टिकाउ दर घट्दै गएको छ। तल्लो तहमा केही विद्यार्थी बढी भएपनि कक्षा चढे साथै विद्यालयमा बिचैमा कक्षा छाड्ने दर बढीरहेको तथ्यांक सरकारी निकायले नै सार्वजनिक गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका माहानिर्देशक चुडामणी पौडेलले मंगलबार केन्द्रले गरेका कार्यहरुबारे प्रस्तुत गर्दै विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थीलाई टिकाउन चुनौती थपिन्दै गएको जनाए।

केन्द्रले प्रस्ततु गरेको तथ्यांक अनुसार वि.सं २०७८ सालमा कक्षा ८मा विद्यार्थीको टिकाउ दर ८५.१ प्रतिशत रहेको थियो भने यी विद्यार्थीहरु कक्षा १० सम्म आइपुग्दा विद्यालयमा टिक्ने दर निकै घटेर ६६.१ प्रतिशतमा सिमित रहेको छ। अर्थात् कक्षा १० सम्म पुग्दा ३३.९ प्रतिशत विद्यार्थीहरु बिचैमा हराउने गरेका छन्।

अझ यो दर कक्षा १२ मा झनै खस्केको छ। कक्षा १२ सम्म आइपुग्दा झण्डै आधा  विद्यार्थीले बिचैमा कक्षा छाड्ने रहेछन्। तथ्यांक अनुसार कक्षा १२ सम्म पुग्दा ०७८ को तथ्यांकले ३३.१ प्रतिशतमा विद्यार्थी मात्र कक्षामा उपस्थित हुने रहेछन्। अर्थात् ६६.९ प्रतिशत विद्यार्थी बिचैमा कक्षा छाड्ने गरेको तथ्यांकले नै प्रष्ट पारेको छ।

महानिर्देशक पौडेलले देशमा विद्यमान गरिबीका कारण धेरै विद्यार्थीहरु विद्यालय भर्ना भएपछि आधारभूत तहसम्म मुस्किलले टिक्ने गरेको र कक्षा १० र १२ सम्म पुग्नु भन्दा पहिले नै उनीहरु आर्थिक आयआर्जन गर्न तर्फ लाग्ने गरेका छन्। आफू र आफ्ना परिवारको गाँस बास र कपासको जोहो गर्न पनि विद्यार्थीले सानै उमेरमा बिचैमा पढाइ छाडी काममा लाग्ने गरेको देखिएको महानिर्देशक पौडेलले बताए।

‘माथिल्लो कक्षा चढ्दै जाँदा बालबालिकाहरुको उमेर पनि बढ्दै जान्छ। उनीहरुले पारिवारिक समस्या बुझ्न थाल्छन्,’ महानिर्देशक पौडेलले नागरिकसँग भने परिवारलाई हातमुख जोड्नु जिम्मेवारी सन्तानकै काँधमा आउँछ।’ उनले थपे ‘जसका कारण धेरै विद्यार्थीहरु कमाउन थाल्छन्। अभिभावकलाई काममा सघाउन थाल्छन्। यसकारण बिचैमा ड्रपआउट हुने बालबालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ।’

यसैगरी सार्वजनिक तथ्यांक अनुसार कक्षा ३ मा विद्यार्थीको पठन सक्षमता ४३.७१ प्रतिशत मात्र पुगेको छ। ‘पठन सक्षमता ५० प्रतिशत पनि पुग्न नसक्नुले हाम्रो शैक्षिक स्तर कति कमजोर छ भन्ने प्रस्ट भएको छ,’ उनले भने ‘अब शिक्षाका निकायहरुले बालबालिको सिकाई उपलब्धीको स्तरमा लगानी बढाउनु पर्ने देखियो।’

हाल शिक्षामा छुटाउँदै आएको बजेटको ८५ प्रतिशत रकम शिक्षकहरुको तलब भत्तामै खर्च हुने भएकोले शैक्षिक गुणस्तर वृद्धि तर्फ रकम अपुग हुने गरेको केन्द्रले जनाएको छ। केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार आधारभूत तहमा महिला शिक्षकहरु ४६.५ प्रतिशत रहेका छन्। अर्थात् साना कक्षामा शिक्षण सिकाइमा महिला शिक्षकको उपस्थित राम्रो देखिए पनि भने माध्यामिक तहमा कम रहेको तथ्यांक छ। माध्यमिक तहमा महिला शिक्षकहरु २०.४ प्रतिशत मात्र रहेको छ।

यसैगरी आधारभूत शिक्षाको तह पूरा गर्नेको दर ७६.२ प्रतशत मात्र छ। अर्थात् अझै पनि २३.८ प्रतिशत बालबालिकाहरु आधारभूत तहको शिक्षा समेत पूरा गर्दैनन्। यसैगरी केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार ६ वर्ष माथिका साक्षरता दर ७८ प्रतिशत छ भने १५ देखि २४ वर्ष उमेर समूहका साक्षरत दर ८८.६ प्रतिशत पुगेको छ। साथै १५ वर्ष भन्दा माथिलो उमेर समूहका साक्षरता दर भने ५८ प्रतिशत मात्र रहेको छ।

हाल मुलुकमा कुल ३४ हजार ३ सय ६८ विद्यालयमा कक्षा १२ सम्म ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत रहेको केन्द्रको तथ्यांक छ। अझै एक सय साक्षर घोषणा हुन बाँकी रहेका स्थानीय तहहरु एक सय ८६ रहेको तथ्यांक छ। केन्द्रले प्रस्तुत गरेको कार्यगत विवरणमा शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्यमा पुल दरबन्दी नभएका पालिकाहरु ४ सय ३० रहेका छन्।

पुल दरबन्दी रहेका पालिकाहरु ३ सय २३ छन्। प्राथमिक तहको ३ सय २३ पालिकामा कुल १२ हजार ६ सय ९९ पुलदरबन्दी रहेको छ भने निमावि तहको १३ पालिकामा एक सय ६ वटा पुलदरबन्दी छन्। यसैगरी मावि तहको ११ पालिकामा ३० वटा पुलदरबन्दी रहेको छ भने तीनै तह गरी १२ हजार ८ सय ३५ वटा पुल दरबन्दी रहेको केन्द्रले जनाएको छ।

‘यसमध्ये १०५ पालिकाको ३ हजार ३ सय ३९ दरबन्दी जिल्ला पुलमा रहने र २१८ पालिकाको ९ हजार ४ सय ९६ वटा दरबन्दी पालिका भित्र नै मिलान हुन्छ,’ महानिर्देशक पौडेलले भने ‘हाल जम्मा १२ हजार ८ सय ३५ पुल (माथिलो तहमा गणना हुने पुल र खुद पुल दरबन्दी समेत) दरबन्दीमा ३३३९ खुद पुल दरबन्दी मध्ये १४८६ दरबन्दी एक स्थानीय तहबाट कट्टा भइ अर्को स्थानीय तहमा पठाइ सकिएको छ।’ उनले थपे ‘९४९६ माथिलो तहमा गणना हुने पुल दरबन्दी मध्ये ८५०० दरबन्दी माथिलो तहमा गणना भइसको छ।’

प्रकाशित: २९ असार २०७९ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App