१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

स्थानीयको सक्रियतामा गोरखाकै जेठो त्रिभुवन पुस्तकालय भवन निर्माण

नयाँ बनेको त्रिभुवन पुस्तकालय भवन।

स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ। १८ वर्षदेखि लगातार बन्द रहेको गोरखा नगरपालिका ६ तीनधारे स्थित पुस्तकालय भवन जिर्ण भएपछि स्थानीयको सक्रियतामा नयाँ निर्माण गरिएको हो।

२००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको थियो। तत्कालीन समयमा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठसहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समूहले पुस्तकालय स्थापना गरेका थिए। २०७२ सालको भूकम्पका कारण पुस्तकालय भवन भत्किएको थियो।

स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीन वर्ष अघिदेखि पुस्तकालय भवन थालिएको थियो। करिब ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको मंगलबार गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन्। निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले भवन नयाँ बनेपनि त्यहाँ भित्र राख्ने पुस्तक अभाव रहेको बताए।

त्रिभुवन पुस्तकालय निर्माणमा सहयोग गर्ने दाता मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई सम्मान गर्दै नगरप्रमुख।  

‘एउटा सानो पाटीबाट सुरु भएको पुस्तकालय जिल्लाकै जेठो हो, अहिले भवन बनाएका छौँ, यहाँ किताब भर्न बाँकी छ।’ पहिले/पहिले विद्यालय शिक्षा, लोकसेवा पढ्ने ठाउँ सबैका लागि पुस्तकालय रहेको बताउँदै उनले किताब किन्न नसक्दाको सारथी भएको स्मरण गरे। त्रिभुवन पुस्तकालयलाई दिगो राख्न स्थानीय सक्रिय रहेको उनले बताए। नगरप्रमुख राना मगरले पुस्तकालय संचालन गर्न आवस्यक सहयोग गर्ने बताए।

‘यो क्षेत्र गोरखाको ऐतिहासिक क्षेत्र हो, यसलाई सम्पदा वस्तीको रुपमा विकास गर्ने तपाईंहरुको योजना अनुसार नगरपालिकाले कार्यक्रम बनाएको छ’ उनले भने। उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्दत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तकालयसम्म जाने र अध्ययन गर्ने थलोको रुपमा लैजानुपर्ने बताइन्।

पूर्व नगर प्रमुख राजनराज पन्तले त्रिभुवन पुस्तकालय गोरखाको एउटा महत्वपूर्ण इतिहास भएकाले यसको संरक्षण गर्न नगरपालिकाले तीन वर्ष अघिदेखि अग्रसरता लिएको बताए। ‘स्थानीयको सक्रियता नगरको सहयोगले यो भवन बनेको छ, यसलाई संचालन गर्ने स्वामित्व नगरपालिकाले लियो भने सिकाईको केन्द्रको रुपमा विकास गर्न सकिन्छ’ उनले भने।

त्रिभुवन पुस्तकालय भवन उद्घाटन कार्यक्रम।  

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भवन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

सोही अवसरमा पत्रकार शिव उप्रेतीले पुस्तकालयका लागि केही थान किताब पुस्तकालयलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो। पुस्तकालय संचालन र व्यवस्थापनका लागि कुशललाल श्रेष्ठको अध्यक्षताममा समिति बनाइएको छ। उक्त समितिले किताब जोहो र त्यहाँको व्यवस्थापन गर्ने अध्यक्ष श्रेष्ठले बताए।

किताब खरिद गर्न केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले एक लाख ५० हजार र लक्ष्मण नेपाली र आमा बा अस्पतालको तर्फबाट एक लाख २५ हजार सहयोग गरेका छन्। पुस्तकालयमा लक्ष्मणबाबु स्मृती सदन, मनकुमारी स्मृती कक्ष, राधादेवी स्मृती कक्ष, गोपाल भगिरथी स्मृती सदन बनाइएको छ।

प्रकाशित: १४ असार २०७९ १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App